बालबालिकाप्रति नगरपालिकाको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता भीरकोट ७ मा सम्पन्न

पुष २८/खबरकलम संवाददाता: बालबालिकाप्रति नगरपालिकाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता भीरकोट नगरपालिका वडा नं ७ स्थित वडा कार्यालयमा सम्पन्न भएको छ।

वडा बालसञ्जाल भीरकोट नगरपालिका वडा नं ७ को आयोजना तथा भीरकोट नगरपालिका वडा नं ७ वडा कार्यालय र भीरकोट नगरपालिकाको सहजीकरणमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो। वडा बालसञ्जाल भीरकोट नगरपालिका वडा नं ७ की अध्यक्ष नन्दनी अर्यालको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा भीरकोट नगरपालिका उपप्रमुख भगवती अर्याल रहेकी थिईन् भने विशिष्ट अतिथिको रुपमा वडा नं ७ का वडाध्यक्ष ताराप्रसाद अर्याल, बालमैत्री शाखा प्रमुख विष्णुमाया काफ्ले, देवप्रसाद अर्याल लगायतका स्थानीय समाजसेवी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी र बालबालिकाको सहभागिता रहेको थियो।

अस्विना केसी सञ्चालक रहेको कार्यक्रममा आयोजना गरिएको बालबालिकाप्रति नगरपालिकाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा प्रथम निकिता थापा, द्वितीय प्रकृति रोका, तृतीय स्वीकृति रेग्मी तथा सान्त्वना स्थान सक्षम रोकाले हासिल गरेका थिए।

सहभागी हरेक विद्यार्थीलाई कपी र कलम सहित प्रथम हुनेलाई सम्मानपत्र, कपी कलम र नगद रु २०००, द्वितीय हुनेलाई रु १५००, तृतीय हुनेलाई रु १००० नगद पुरस्कार प्रदान गरिएको थियो। वक्तृत्वकला प्रतियोगितामा १६ जना विद्यार्थीले भाग लिएका थिए भने उपस्थित बालबालिकाको संख्या ९५ जना रहेको उक्त प्रतियोगितामा निर्णायकको भूमिका शिक्षा शाखा भीरकोटका प्रास विष्णु भट्टराई , शिक्षकहरु कृष्णप्रसाद पौडेल र मिलन समीरले निभाएका थिए।

साथै, वक्तृत्वकला प्रतियोगिताको समापनसँगै आज वडामै “जनप्रतिनिधिसँग बालबालिका” कार्यक्रम पनि सम्पन्न गरिएको छ। वडाबाट सम्पादन हुने कामबारे उठेका प्रश्न र गुनासाहरुको सम्बोधन वडाध्यक्ष ताराप्रसाद अर्याल, नगरपालिकाबाट प्रदान हुने सेवाका विषयमा उठेका प्रश्नहरुको जबाफ उपप्रमुख भगवती अर्यालले दिएका थिए।

“बालबालिकासँग जनप्रतिनिधि र स्थानीय सरकार” कार्यक्रम आफ्नो वडाबाट सुरु गरिएपनि यो कार्यक्रम भीरकोट नगरपालिकाभरी नियमित रुपमा आयोजना गर्न आफू सक्रिय रहने र स्थानीय सरकार बालबालिकाको हक हित र संरक्षणमा पूर्ण रुपमा प्रतिबद्ध रहेको जानकारी वडाध्यक्ष ताराप्रसाद अर्यालले दिए।

उनले आफू वडाध्यक्षमा निर्वाचित भएलगत्तै वडाको बजेटबाट आफ्नो वडा (भीरकोट नगरपालिका वडा नं ७) मा रहेका विद्यालयलाई १० प्रतिशत छुट्याएर शिक्षामा सुधारको अभियान सुरु गरिसकेका छन्।

Share Post on Social media