गाउँमै खुलेको स्वास्थ्य केन्द्रबाट स्थानीय लाभान्वित,१६ महिनामा ६ हजारको स्वास्थ्य जाँच

फागुन ३/जीवन अर्याल: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ स्थित सिस्नेपानीमा स्थापना गरिएको स्वास्थ्य सेवा केन्द्रबाट यस क्षेत्रका स्थानीय प्रत्यक्ष रुपमा लाभान्वित भएका छन्।

लामो समयदेखि यस क्षेत्रका स्थानीयले पाएको सास्तीलाई ध्यानमा राख्दै अर्जुनचौपारी गाउँपालिकाले टोल-टोलमै आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यका साथ १६ महिना अघि आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको हो। स्वास्थ्य केन्द्र स्थापना भएसँगै यस क्षेत्रका स्थानीयलाई सामान्य बिरामी भएपनि स्याङ्जा र पोखरा पुग्नुपर्ने बाध्यता हटेको हो।

पुतलीबजार नगरपालिकाको वडा नं १३, भीरकोट नगरपालिकाको वडा नं ७ र अर्जुनचौपारी गाउँपालिकाको वडा नं १ का बासिन्दाहरु प्रत्यक्षरुपमा स्वास्थ्य सेवा लिन यस स्वास्थ्य केन्द्रमा आउने गरेको जानकारी उक्त स्वास्थ्य केन्द्रमा कार्यरत अहेव सृजना बरालले जानकारी दिइन्। उनका अनुसार उक्त स्वास्थ्य केन्द्रबाट हाल नेपाल सरकारले वितरण गर्ने औषधिमध्ये करिब ७० प्रकारका औषधिहरू निशुल्क वितरण गरिने, गर्भवती जाँच, मानसिक विरामीलाई काउन्सिलिङ, नियमित स्वास्थ्य जाँच, ज्येष्ठ नागरिक बिरामीलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने जस्ता स्वास्थ्य सेवाहरु प्रवाह गरिरहेको उनको भनाइ थियो।

हरेक महिनाको २१ गतेदेखि २५ गतेसम्म घरघरमै पुगेर ज्येष्ठ नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गरिएको जानकारी समेत अहेव बरालले दिइन्। अत्यावश्यक अवस्थामा अक्सिजन सेवा प्रदान गर्न एउटा अक्सिमिटर मेशिन समेत स्वास्थ्य केन्द्रमा राखिएको छ। बालबालिका र ज्येष्ठ नागरिकलाई नेबुलाइजर सेवा समेत उक्त सेवा केन्द्रबाट प्रदान गरिएको छ।

हालसम्म उक्त स्वास्थ्य सेवा केन्द्रबाट ६००० जनाभन्दा बढीले स्वास्थ्य सेवा लिइसकेका छन् भने माघ महिनामा मात्र ३६१ जनाले स्वास्थ्य सेवा लिएको उक्त स्वास्थ्य केन्द्रले जनाएको छ।

हाल उक्त स्वास्थ्य सेवा केन्द्रमा १ जना पोषण सहजकर्ता, १ जना अनमी, २ जना अहेव र १ जना सहयोगी सहित ५ जना कार्यरत छन्।

Share Post on Social media