स्याङ्जामा सञ्चालित देवीस्थान कपको उपाधि प्रगति एसोसिएसनलाई


राम बहादुर रोकाहा/स्याङ्जा: स्याङ्जाको पुतलीबजार नगरपालिकामा भएको देवीस्थान कप 5A साइड फुटसलको उपाधि प्रगति एसोसिएसनले जितेको छ ।

बुधबारदेखि सुरु भएको उक्त फुटसल प्रतियोगितामा देवीस्थान क्लबलाई २-० गोलले पराजित गर्दै उपाधि प्रगति एसोसिएसनले जितेको हो । विजेता प्रगति एसोसिएसनले ४० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको थियो भने उपविजेता देवीस्थान क्लबले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार स्वरुप पाएको थियो।

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नारासहित स्याङ्जाको देवीस्थान युवा क्लबले पुतलीबजार नगरपालिका-२ देवीस्थान खेलमैदानमा देवीस्थान कप 5A साइड फुटसल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष नरेश गुरुङले जानकारी दिए। प्रतियोगितामा इमर्जिङ खेलाडी बनेका राहुल थापा, वेस्ट प्लेयर कृष्ण राना, वेस्ट गोलकिपर हिमाल गुरुङ र सर्वाधिक गोलकर्ता योगराज गुरुङलाई प्रमाणपत्र र मेडलले पुरस्कृत गरिएको खेल संयोजक सोनु गुरुङले जानकारी दिए ।

प्रतियोगिताको समापनमा मनकामना आँखा उपचार केन्द्र स्याङ्जाले नि:शुल्क आँखा शिविर र स्याङ्जा पश्चिमाञ्चल डेन्टल केयर सेन्टर स्याङ्जाले नि:शुल्क दन्त शिविर संचालन गरी सहयोग गरेको आयोजक क्लबले बताएको छ ।

Share Post on Social media