शिवरात्रीको व्यापार, “छायाँक्षेत्र मन्दिरमा रु २०० को द्रूत टिकट, आजीवन सदस्यलाई निशुल्क पास”

खबरकलम संवाददाता /स्याङ्जा: पछिल्लो समय धर्मलाई व्यापारकै माध्यम बनाएको भन्दै छायाँक्षेत्र मन्दिर व्यवस्थापन समितिको आलोचना भइरहेको भएपनि महाशिवरात्रि पर्वको अवसरमा छायाँक्षेत्र मन्दिरले पैसा हुनेहरुको लागि रु २०० मा द्रूत पासको व्यवस्था गरेको छ।

महाशिवरात्रि पर्वको दिन विशेष मेला हुने र भक्तहरुको घुइँचो लाग्ने कुरालाई मध्यनजर गर्दै मन्दिरले आम्दानीको स्रोतको रुपमा टिकट बनाई द्रूत पासको व्यवस्था मिलाएको हो। यसले पैसा हुने र तिर्न सक्नेहरुलाई लामो समयसम्म लाइन बस्नु नपर्ने र मन्दिरको दर्शन छिट्टै छोटो मार्गबाट गर्न सकिने माध्यम बनाएको छ।

मन्दिर जस्तो पवित्र स्थलमा पनि हुने र नहुनेबीच विभेद सृजना भएको भन्दै यसअघि पनि भक्तजनहरूको विरोध रहँदै आएको थियो। तर, सो विरोधलाई वेवास्ता गर्दै मन्दिर व्यवस्थापन समितिले पुनः पैसामा पासको व्यवस्था गरेको छ। यद्यपि उक्त द्रूत मार्गबाट अशक्त, असहाय तथा जेष्ठ नागरिकहरुलाई भने प्रवेश दिइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

मन्दिरका आजीवन सदस्यलाई समेत टिकट काट्नु नपर्ने र लाइन पनि बस्नु नपर्ने व्यवस्था मिलाउँदै पासको व्यवस्था गरिएको नाम प्रकाशित नगर्ने शर्तमा मन्दिर व्यवस्थापन समितिकै एक सदस्यले बताए। उनका अनुसार यो व्यवस्था गतवर्षबाटै गरिएपनि पहुँचवालाले बाधा पुर्याएको भन्दै यसपटक पासलाई प्रिन्ट नै गरी वितरण गर्न लागिएको जानकारी दिए।

उनका अनुसार महाशिवरात्रि पर्वको तयारी सम्पूर्ण रुपमा सकिएको र आज राती पनि मन्दिर व्यवस्थापन समितिको बैठक बसी आवश्यक थप तयारी गरिने जानकारी दिए। विभिन्न स्थानबाट भोलिको ब्यापारको लागि व्यापारी आईसकेको र उनीहरुलाई सहजीकरण गर्न स्टल समेत तयार गरी मार्किङ गरिएको उनको भनाइ छ। तर, मन्दिर व्यवस्थापन समितिले आर्थिक पारदर्शिता कायम गर्न नसकेको, दान तथा भेटीको रुपमा उठेको पैसाको हरहिसाब राखेपनि पारदर्शी हुन नसकेको, मन्दिरको प्रचारप्रसार जति गर्नुपर्ने र हुनुपर्ने हो त्यो गर्न नसकेको, मन्दिर व्यवस्थापन समितिमा अक्सर पूरानै अनुहार दोहोरिईरहेको आरोप मन्दिर व्यवस्थापन समितिले खेपिरहेको छ।

स्वयंसेवकले भोलि दिनभर आवाश्यक सेवा प्रदान गर्ने तथा सुरक्षाका लागि वालिङ र भीरकोटबाट पनि प्रहरी परिचालन गरिने उनको भनाइ छ। पार्किङको लागि समेत ठाउँ तयार गरिसकिएको जनाइएको छ। मन्दिरमा भोलि करिब १५-२०००० भक्तजनले दर्शन गर्ने अपेक्षा राखिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

महादेवले आफ्नी पत्नी सतिदेवीलाई काँधमा बोकी पृथ्वी भ्रमण गरी हिँड्ने क्रममा धेरै अंगहरु विभिन्न स्थानमा पतन भएको र सतिदेवीको पतन हुन बाँकी सम्पूर्ण अंग यही स्थानमा पतन भएको कथन श्रीस्वस्थानी व्रतकथामा समेत उल्लेख भएको यस छायाँक्षेत्र मन्दिरको उचित प्रचारप्रसार, संरक्षण र संवर्द्धन हुनुपर्ने देखिन्छ।

Share Post on Social media