आठौं दिपन स्मृति कप क्रिकेट प्रतियोगिता आजबाट सुरु

चैत ८/माधवप्रसाद रेग्मी: हेलु लामाचौर युवा क्लबद्वारा आयोजित आठौं दिपन स्मृति कप क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ। लामाचौर स्थित दिपन स्मृति बहुउद्देश्यीय खेलमैदानमा प्रतियोगिता सुरु भएको हो।

स्याङ्जा जिल्ला क्रिकेट संघका उपाध्यक्ष एवम् हेलु लामाचौर युवा क्लबका वरिष्ठ सल्लाहकार विनोद कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य एवम् खेलकुद विभाग प्रमुख डिल्लीराम कोईराला उपस्थित थिए। विशिष्ट अतिथिहरूमा समाजसेवी दया कुमार श्रेष्ठ, सुरेश उच्चै ठकुरी, चन्द्रमान सिंह थापा, मिन बहादुर के.सी साथै अतिथिहरुमा खुम बहादुर खाँण ठकुरी, रमजान मिया, राज कुमार श्रेष्ठ, मनोज श्रेष्ठ, अनुपम मरासिनी, खेलका एम्पाएरहरू साथै विभिन्न आमा समुहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले क्रिकेट खेलले नेपाललाई पनि विश्व सामु चिनाउन सफल भएको कुरा व्यक्त गरे। साथै खेललाई सम्पन्न गर्न आफ्नो तर्फबाट साथ र सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत उनीहरुले जनाए।

कार्यक्रममा बोल्दै संस्थाका वरिष्ठ सल्लाहकार विनोद कार्कीले यस मैदानले स्याङ्जाबाट धेरै क्रिकेट खेलाडीहरू उत्पादन गरेको र यसको स्तर उन्नतिका लागि स्थानीय सरकारले पनि पहल गर्नुपर्ने साथै अहिलेसम्म खेलको लागि १० टिमहरू दर्ता भएको जानकारी दिए।

कन्साइन्स मा.वि.का सहायक प्रधानाध्यापक माधव प्रसाद रेग्मीले सञ्चालन गरेको उक्त उद्घाटन कार्यक्रममा खेलप्रेमी विभिन्न व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

Share Post on Social media