आठौं दिपन स्मृति टि-१० क्रिकेट प्रतियोगिताको फाइनलमा स्याङ्जा क्रिकेट क्लब विजयी

माधवप्रसाद रेग्मी/खबरकलम डटकम: हेलु लामाचौर युवा क्लबद्वारा मिति २०८०/१२/०८ देखि संचालन गरेको आठौं दिपन स्मृति टि-१० क्रिकेट प्रतियोगितामा स्याङ्जा क्रिकेट क्लब विजयी भएको छ।

आज सम्पन्न भएको फाइनलमा टस जितेर फिल्डिङ रोजेको स्याङ्जा क्रिकेट क्लबले हेलु लामाचौर युवा क्लबलाई निर्धारित १० ओभरमा ६ विकेटको क्षतिमा ७१ रनमा रोक्न सफल भयो । उत्कृष्ट ब्याटिङ गरेका साजन गुरूङले सर्वाधिक ४७ रन जोडे।

दोस्रो इनिङ्समा जितको लागि ७२ रनलाई पछ्याउदै गरेको स्याङ्जा क्रिकेट क्लबले १९.३ ओभरमा ७२ रन बनाउँदै फाईनल खेल जित्न सफल भएको हो । विजयी स्याङ्जा क्रिकेट क्लबले रू. २५,१२८/- धनराशी सहित मेडल र ट्रफी प्राप्त गरेको छ भने दोस्रो स्थान हासिल गरेको हेलु लामाचौर युवा क्लबले रू. १५,१२८/- धनराशी सहित मेडल र ट्रफी प्राप्त गरेको छ ।

भीरकोट नगरपालिका वडा नं १ का वडा सदस्य तथा खुमबहादुर खाँणको अध्यक्षतामा संचालन भएको समापन कार्यक्रममा प्रमुख अतिथि भीरकोट नगरपालिकाका नगर प्रवक्ता श्री दिपेन्द्र केसी रहेका थिए भने विशिष्ट अतिथिको रूपमा डिल्लीराम कोईराला, चण्डिका सापकोटा अर्याल, दहथुम प्रहरी चौकीका प्रमुख महेन्द्र भट्टराई, प्रकाशमान सिंह थापा, दया कुमार श्रेष्ठ, वुद्धिप्रसाद श्रेष्ठ, कन्साईन्स माविका प्रधानाध्यापक साजन परियार लगायतका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरूले खेलकुदबाट युवाहरुले विभिन्न किसिमका अवसरहरू प्राप्त गर्नको लागि युवालाई देशमै रोजगारको व्यवस्था गरेर राख्न सकेमा खेलकुदले फड्को मार्न सक्ने कुरा व्यक्त गरे। समापन कार्यक्रमको संचालन माधव प्रसाद रेग्मीले गरेका थिए भने स्वागत मन्तव्य युवा क्लबका वरिष्ठ सल्लाहकार विनोद कार्कीले दिएका थिए।

Share Post on Social media