अर्जुनचौपारीमा राष्ट्रिय तथा प्रदेश स्तरीय खेलाडीहरुको घम्साघम्सी, सम्झना फाइनलमा

राम बहादुर रोकाहा/चैत्र १७: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-१ बजारस्थित खेलमैदानमा दरौँखोला युवा परिवारले आयोजना गरेको वडा क्लब स्तरीय भलिबल प्रतियोगितामा अग्रदिप युवा क्लबलाई हराउँदै सम्झना युवा क्लब फाइनलमा प्रवेश गरेको छ ।


सम्झना युवा क्लबले राष्ट्रिय भलिबल नेपालका कप्तान मान बहादुर श्रेष्ठ र सदस्य धन बहादुर भट्ट सहभागी अग्रदिप युवा क्लबलाई ३-० को सोझो सेटमा हराएर फाइनलमा प्रवेश गरेको हो । गण्डकी प्रदेश भलिबलका पुर्व कप्तान तथा टिपटप हेल्प नेपाल भलिबलका सदस्य सन्जु बिक्रम शाही र टिपटप हेल्प नेपाल भलिबलका सदस्य चिरन खड्का सहभागी सम्झना युवा क्लबले अग्रदिपलाई २५-१४, २५-१९ र २५-२३ अंकले पराजित गरेको हो । यस्तै, गण्डकी प्रदेश भलिबलका सदस्य हिमाल सुनारी र जीवन विक सहभागी आयोजक ए´ले सोझो सेटमा आयोजकबि´लाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।


भलिबल प्रतियोगितामा शिल्ड, मेडल र प्रमाणपत्रसहित विजेताले नगद एक लाख २१ हजार १११ रुपैयाँ, उपविजेताले ८१ हजार १११ रुपैयाँ, तृतीयले ४१ हजार १११ र सान्त्वना हुने टिमले ११ हजार १११ रुपैयाँ पुरस्कार हात पार्नेछन् ।
बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट डिफेन्डर, बेस्ट कुइकर र बेस्ट अनुशासित प्लेयर गरि विभिन्न सात विधामा पनि खेलाडीहरुलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । फागु पुर्णिमाको अवसरमा आयोजित चैत्र ११ गतेबाट सुरु भएको भलिबल प्रतियोगितामा १९ टिमको सहभागी रहेको छ । प्रतियोगितामा राष्ट्रिय तथा प्रदेश स्तरीय खेलाडीहरुको घम्साघम्सी रहेको छ ।

Share Post on Social media