गल्याङमा प्रथम आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

राम बहादुर रोकाहा/वैशाख ३: स्याङ्जाको गल्याङ नगरपालिका -३ स्थित तल्लो गल्याङ खेलमैदानमा प्रथम गल्याङ कप पुरुष भलिबल हुने भएको छ ।

वैशाख ४ गतेदेखि ९ गतेसम्म हुने आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा १० जिल्लाको सहभागिता रहने खेल संयोजक विशाल थापाले जानकारी दिए ।

तेस्रो गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । उक्त भलिबल प्रतियोगितामा ट्रफी, मेडल र प्रमाणपत्र सहित विजेताले एक लाख ५० हजार रुपैयाँ, उपविजेताले एक लाख, तृतीयले ५० हजार र सान्त्वनाले २५ हजार प्राप्त गर्नेछन् ।

उक्त प्रतियोगितामा विभिन्न विधा अन्तर्गत उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, डिफेन्डर, सर्भर, प्रशिक्षक र अनुशासित खेलाडीलाई पुरस्कार प्रदान गरिने खेल संयोजक विशाल थापाले बताए ।

उनले स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, नवलपुर, तनहुँ, पर्वत, रुपन्देही लगायतका १० जिल्लाको प्रतियोगितामा सहभागिता रहने बताए ।

उक्त प्रतियोगितामा राष्ट्रिय तथा प्रदेश स्तरीय लगायतका खेलाडीहरुको सहभागिता रहुने र खेल संचालनका लागि १४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

Share Post on Social media