भीरकोटमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने, विजेतालाई एक लाख १० हजार पुरस्कार

राम बहादुर रोकाहा/वैशाख २९: स्याङ्जाको भीरकोट नगरपालिकास्थित बयरघारी खेलमैदानमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

बयरघारी पिस युथ क्लबले `समाज र राष्ट्र विकासको लागि युवा एकता, अनुशासन, विकास र गतिशीलता´ भन्ने मुल नारासहित स्याङ्जाको भीरकोट नगरपालिका स्थित बयरघारी खेलमैदानमा आयोजित रमाइलो मेलाको मुख्य आकर्षणको रुपमा प्रतियोगिता गर्ने भएको हो ।

खेलकुद, कला र संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्यका साथ २५६८ औं बुद्ध जयन्तीको अवसर तथा क्लबको वार्षिकोत्सबको अवसरमा भीरकोट खेलमैदानमा यहि जेठ १० गतेदेखि २० गतेसम्म आयोजित रमाइलो मेला २०८१ मा युवाहरु लक्षित भलिबल प्रतियोगिता गरिएको क्लबका अध्यक्ष दिल बहादुर मगर(सागर)ले जानकारी दिए ।

लिग सिस्टम अनुसार खेलाइने उक्त भलिबल प्रतियोगितामा ट्रफी, मेडल र प्रमाणपत्र सहित विजेताले एक लाख १० हजार रुपियाँ, उपविजेताले ६५ हजार , तृतीयले ३५ हजार र सान्त्वनाले २५ हजार प्राप्त गर्नेछन् ।

यसैगरी, प्रतियोगितामा विभिन्न विधा अन्तर्गत उत्कृष्ट खेलाडी, स्पाइकर, सेटर, कुइकर, ब्लकर, डिफेन्डर र सर्भरलाई ट्रफी, मेडल एवं प्रमाणपत्र प्रदान गरिने खेल संयोजक सुरज खाँण ठकुरीले बताए ।

Share Post on Social media