अर्जुनचौपारी गाउँपालिकाका विद्यार्थीको निशुल्क रक्त समूह पहिचान कार्यक्रम सुरु

खबरकलम डेस्क /वैशाख ३०: अर्जुनचौपारी गाउँपालिकाले आफ्नो पालिकाभरका विद्यालयमा अध्यापनरत शिक्षक र अध्ययनरत विद्यार्थीको निशुल्क रक्त समूह पहिचान गर्ने कार्यक्रम थालनी गरेको छ।

अर्जुनचौपारी गाउँपालिकाले आफ्नै आन्तरिक स्रोत व्यवस्थापन गरी विद्यार्थी र शिक्षकहरुको ब्लड ग्रुप पहिचान गर्ने गरी कार्यक्रम सुरुवात गरेको हो।

हालसम्म आफ्नो ब्लड ग्रुप पहिचान नगरेका शिक्षक र विद्यार्थीहरूलाई आपतकालीन अवस्थामा आफ्नो रगतको समूह थाहा पाउन तथा उमेर पुगेका व्यक्तिहरुले अन्य व्यक्तिलाई समेत रक्तदान गर्न सहजीकरण गर्ने गरी यस कार्यक्रम थालनी गरिएको अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष शर्माले जानकारी दिए।

उनका अनुसार आजबाट प्रारम्भ भएको रक्त समूह पहिचान कार्यक्रम पालिकाका सम्पूर्ण विद्यालयमा गरिने र सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुलाई समेटिने गरी निरन्तरता दिइने छ।

आज अर्जुनचौपारी गाउँपालिकाको वडा नं १ स्थित पञ्चकन्या माविका १९० जना विद्यार्थी, वडा नं ४ स्थित जन माविमा अध्ययनरत १५२ जना विद्यार्थी र वडा नं ६ स्थित जनविकास आविमा अध्ययनरत ४२ जना विद्यार्थीमा रक्त समूह पहिचान सम्पन्न भएको छ।

पालिकास्तरबाट विद्यालयमा रक्त समूह पहिचान कार्यक्रम गरिएको संभवतः स्याङ्जा जिल्लामै पहिलोपटक हो।

Share Post on Social media