धोनीसँगै रैनाले पनि लिए सन्यास!

भारतका दुई स्टार क्रिकेटर महेन्द्र सिंह धोनी र सुरेश रैनाले एकैसाथ अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।

महेन्द्र सिंह धोनीले सन्यास लिएको घोषणा गरेको एक घन्टा पनि बित्न नपाउँदै अर्का महान खेलाडी सुरेश रैनाले पनि क्रिकेटबाट सन्यास लिएका हुन्। धोनीसँग क्रिकेट खेल्न पाउनु आफ्नो एक उपलब्धि बताउँदै उनले धोनीसँगै सन्यास लिन पाउँदा आफू निकै गौरवान्वित भएको समेत इन्स्टाग्राममा एक सन्देश लेख्दै बताएका छन्।

रैनाले सन् २००५ मा श्रीलंका विरुद्धको खेलमा एकदिवसीय खेलबाट करिअरको सुरुवात गरेका थिए । उनी त्यसबेला १९ वर्षका थिए ।

उनले तीनै प्रकारको अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पूरा गर्ने पहिलो भारतीय क्रिकेटको रुपमा कीर्तिमान कायम राखेका छन् । सन् २०११ मा धोनीको कप्तानमा भारतले विश्वकप जित्दा उनी पनि उक्त टिममा सहभागी थिए ।

रैनाले भारतीय टिमबाट २२६ एकदिवसीय खेलमा ५ हजार ६ सय १५ रन बनाएका छन् । जसमा ५ शतक र ३६ अर्धशतक सम्मिलित छ । त्यस्तै ७८ वटा ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार ६ सय ५ रन बनाएका छन् । ट्वान्टी-२० मा एक शतक र ५ अर्धशतक प्रहार गरेका छन् ।

Share Post on Social media