स्याङ्जा सहयोग समाज युरोपको दोश्रो युरोप भेला २०२५ भव्य रूपमा सम्पन्न

असार २०/एमपी अर्याल: स्याङ्जा सहयोग समाज युरोपको आयोजनामा “भातृत्व, भाइचारा र सद्भावको राज, युरोपमा स्याङ्जाली एकताको आवाज” भन्ने नाराका साथ दोश्रो युरोप भेला २०२५ बेल्जियममा भव्य र सफल रूपमा सम्पन्न भएको छ।

युरोपभर छरिएर रहेका स्याङ्जालीहरूलाई एउटै मञ्चमा उभ्याउँदै, अन्तर्राष्ट्रिय स्तरमा सशक्त उपस्थिति जनाएको यो भेलाले आपसी एकता, सद्भाव र सहकार्यलाई थप मजबुत बनाएको छ।क्षेत्रीय संयोजक अर्जुन अर्यालको अध्यक्षतामा सुरु भएको पहिलो दिनको कार्यक्रममा विभिन्न महत्वपूर्ण प्रस्तावहरूमाथि गम्भीर छलफल समेत सम्पन्न भएको जानकारी एमपी अर्यालले दिनुभयो। प्रमुख अतिथिका रूपमा अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष बिरेन्द्रजङ के.सी.को उपस्थिति थियो भने मूल आयोजक समितिकी इन्दिरा खनालले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा अमेरिका, दुबई, फ्रान्स, पोर्चुगल, स्पेन, नेदरल्याण्ड, बेलायत र बेल्जियमका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन भेलाका सचिव उदयराज पाण्डेले गर्नुभएको थियो भने उक्त भेलाबाट निम्नलिखित निर्णयहरु समेत भएका छन्।

१. अन्तर्राष्ट्रिय समन्वय समितिका दीर्घकालीन लक्ष्य र उद्देश्य अनुसारका कार्यक्रम, क्रियाकलाप र गतिविधिहरूलाई निरन्तरता दिने,

२. जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक उन्नयन, सुधार एवम् दक्षता अभिवृद्धिका लागि शैक्षिक कार्यक्रमहरू गर्ने निर्णय गरियो। साथै आवश्यकतानुसार अन्तर्राष्ट्रिय समितिसँग समन्वय गरी कार्यक्रम गर्ने,

३. युरोपमा रहेका विद्यमान एन.सी.सी. (NCC) लाई बढाएर ११ वटा एन.सी.सी. स्थापना गर्ने,

विद्यमान NCC हरू: बेल्जियम, पोर्चुगल, फ्रान्स, स्पेन, नेदरल्याण्ड, युके
प्रस्तावित NCC हरू:
• फिनल्याण्ड – सुशील पोखरेल
• हंगेरी – सागर कुँवर
• डेनमार्क – इन्द्र पनेरु
• जर्मनी – निलम सिंजाली मगर
• क्रोएसिया – आई.सी.सी. सचिव ओम पोखरेल

४. युरोपमा रहेका दोस्रो पुस्ताका सन्ततिहरूका लागि नेपाली भाषा, संस्कार, संस्कृति, परम्परा, चलचलन, भाषा, साहित्य लगायत विविध क्रियाकलापलाई परिचित गराउन, सिकाउन, जानकारी दिन अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव श्री एम. पी. आर्याललाई संयोजकमा चयन गर्ने साथै युरोपभर सञ्चालित विभिन्न नेपाली पाठशालाहरूसँग आवश्यक समन्वय गरी कक्षा सञ्चालन गरिने वातावरण निर्माण गर्ने,

५. भातृत्व, भाइचारा र सद्भावलाई निरन्तर दिन हरेक कार्यक्रममा विभिन्न एन.सी.सी. हरूको आतिथ्यता र युरोप समाजको आयोजनामा भेलाहरूलाई निरन्तरता दिने,

संस्थाका राजेन्द्र शर्माको बाँसुरीको धुनले माहोल भावानात्मक बनाएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव एम.पी. आर्यालले कविता, मुक्तक तथा साहित्यिक प्रस्तुति समेत दिनुभएको थियो भने कला पंगेनी, रबिन पराजुली, सञ्जय थापा मगर, प्रिन्सी खनाल लगायतका कलाकारको प्रस्तुति समेत उक्त कार्यक्रममा रहेको थियो।

Share Post on Social media