स्याङ्जा प्रशासनको कडाई, “सेना प्रहरीको जस्तो पोशाक नलाउनू”
खबरकलम संवाददाता /स्याङ्जा: जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सेना प्रहरीको जस्तो देखिने पोशाक लगाउनेमाथि निगरानी गर्न थालेको छ।
प्रशासन कार्यालय स्याङ्जाले आज एक विज्ञप्ति जारी गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रचलित कानून बमोजिम हुने गरी लगाउने गरेको पोशाक जस्तै देखिने गरी निजी तथा गैरसरकारी संस्था, सुरक्षा गार्डले समेत प्रयोग गरी दुरुपयोग गरेको र यसबाट सांगठनिक अपराध समेत बढेको भन्दै प्रशासनले त्यसो नगर्न निर्देशन गरेको हो।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जारी गरेको विज्ञप्तिमा सेना तथा प्रहरीको पोशाक तथा दर्ज्यानी चिन्हसँग मिल्दोजुल्दो पोशाकको प्रयोगले समाजमा भ्रम बढेको, शान्ति सुव्यवस्था कामय गर्न समेत द्विविधा उत्पन्न भएको र अपराध समेत हुनसक्ने जोखिम तहेकाले यस्ताखालका पोशाक र दज्र्यानी चिह्न प्रयोग नगर्न र अवैधानिक रूपमा यसको प्रयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही समेत गरिने भएको छ।
चाडबाडको मुखमा प्रशासन कार्यालयले निकालेको विज्ञप्तिअनुसार कार्यन्वयन हुन सकेमा समाजमा शान्ति सुव्यवस्था कायम हुने छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्