रोकाको कुलपूजामा अर्जुनचौपारीको हेल्थ डेस्क, एम्बुलेन्स सहितको निशुल्क सेवा प्रवाह
खबरकलम संवाददाता/स्याङ्जा: स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं १३ कुमालटारीमा रोकाहरुको कुलपूजा सम्पन्न भएको छ। कुल पूजासँगै अर्जुनचौपारी गाउँपालिकाले पनि निशुल्क स्वास्थ्य सहायता कक्षबाट प्रवाह गर्ने सेवा सम्पन्न गरेको छ।
नेपाल राज्यभर बसोबास गर्ने गर्ग गोत्र सिंह रोकाहा क्षेत्रीहरुको र थापाहरुको निशान तथा कुलपूजा स्थलमा उपस्थित सर्वसाधारण तथा भक्ताजनहरुको स्वास्थ्य समेतलाई ख्याल राख्दै अर्जुनचौपारी गाउँपालिकाले निशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन गरी सेवा प्रवाह गरेको छ। पालिका अध्यक्ष प्रकाश तिवारी समेत उक्त सहायता कक्षमा खटिएका थिए।
उक्त कुल पूजामा आएका आगन्तुकको सेवाको लागि अर्जुनचौपारी गाउँपालिकाले २ बेड र एम्बुलेन्स सहितको स्वास्थ्य शिविर सञ्चालन गरी निःशुल्क स्वास्थ्य जाँच, औषधि उपचारको व्यवस्था गरेको थियो।
पूजा अवधिभर पिउनको लागि निःशुल्क पिउने पानीको समेत व्यवस्था अर्जुनचौपारी गाउँपालिकाले गरेको थियो। उक्त स्वास्थ्य सहायता कक्षबाट ५०८ जनाले सेवा लिएको अर्जुनचौपारी गाउँपालिकाले जनाएको छ।
मंसिर २१ र २२ गते गरी दुई दिनसम्म आयोजना गरिएको उक्त कुल पूजामा देशभरका रोकाबन्धुहरु उपस्थित थिए। हजारौंको संख्यामा उपस्थित भक्तालुहरुले रोका निशानलाई भाकल गर्ने तथा भाकल पूरा भएपश्चात बोकाहरुको बली चढाउने परम्परा रहेको छ।
हरेक ५-५ वर्षमा देशभरका रोकाहरुको कुलपूजा यही स्थानमा हुँदै आएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्