अर्जुनचौपारी गाउँपालिकाले माछाका भुरा छाड्ने कार्यक्रमलाई दियो निरन्तरता

मंसिर २७/खबरकलम संवाददाता: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि दरौंखोलामा विभिन्न जातका ८० हजार माछाका भुरा छाडेको छ ।

नेपाल विद्युत्त प्राधिकरण काली गण्डकी ‘ए’ जलविद्युत केन्द्र कालीगण्डकी मत्स्य ह्याचरी बेल्टारी स्याङ्जाको सहयोगमा अर्जुनचौपारी गाउँपालिकाले ठेड , गर्जी र हाडे जातका माछाका भुरा दरौंखोला, केवरेखोला र दिर्जे खोलालाई माछापालनबाट आर्थिक आर्जनमा जोड्ने पालिकाको नीति तथा कार्यक्रम अनुसार प्रत्येक वर्ष खोलामा माछाका भुरा छाड्दै आएको अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।

विभिन्न प्रजातिका माछाका भुराहरु प्रत्येक वर्ष छोडिने र खोलालाई पालिकाको आर्जनका माध्यम बनाउने तिवारीले बताउनुभयो।

धेरै ठाउँमा खोलालाई माछामार्फत आय आर्जनमा जोडिएको र विज्ञसँगको छलफल गरेर खोलामा माछाका भुरा हालेको बताउनुभयो । पालिकाले खोलाको ४ किलोमिटर क्षेत्रमा ६ ठाउँमा भुरा हालेको हो ।

खोलामा माछाका भुरा हालेसँगै पालिकाले कुनै पनि तवरले खोलाका माछा मार्ने कार्य निषेध गरिएको प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले बताउनुभयो ।

परम्परागत रुपले माछा मारी जीविकोपार्जन गरिरहेका समुदाय तथा व्यक्तिहरुले समेत माछा मार्न नपाउने र दैनिक जीविकोपार्जनमा कठिनाइ उत्पन्न हुने अवस्था आइपरेमा पालिकाले राहत उपलब्ध गराउनेछ ।

पालिकाले जिल्ला प्रशासन कार्यालय, भीरकोट नगरपालिकाको कार्यालय र अर्जुनचौपारी प्रहरी चौकीलाई समेत माछा मार्न निषेध गरिएको विषयमा जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गरेको छ ।

पालिकाको आग्रह र निर्देशन विपरीत माछा मारेको भेटिएमा वा खबर पाइएमा कानुन बमोजिम कारबाही गरिने पालिकाले जनाएको छ ।

Share Post on Social media