हाम्रो खुशी पाठ्यक्रम दृष्टिकोण निर्माण कार्यशाला’ कास्कीकाे लुम्लेमा सुरू
असार १८/खबरकलम संवाददाता: स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकाले ‘हाम्रो खुशी पाठ्यक्रम दृष्टिकोण निर्माण कार्यशाला’ आजबाट सुरु गरेको छ। कास्कीको लुम्लेमा कार्यशालाको उद्घाटन समारोहमा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य खगराज अधिकारी, मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारी, राष्ट्रिय गाउँपालिका महासंघका महासचिव तथा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेकाे थियाे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुँदै प्रदेश सभा सदस्य खगराज अधिकारीले सामुदायिक शिक्षामा विद्यार्थीहरुको समग्र खुशी र सन्तुलित विकासका लागि स्थानीय तहबाट यस्ता पहलहरू अत्यन्तै सराहनीय रहेको बताउनु भयाे । उहाँले विद्यार्थीहरूको जीवनमुखी शिक्षा र मानसिक स्वास्थ्य अभिवृद्धि गर्ने खालका कार्यक्रमहरू आवश्यक रहेको उल्लेख गर्नुभयाे । कार्यक्रममा मध्यविन्दु नगर प्रमुख भिमलाल अधिकारीले विद्यार्थीहरुलाई सकारात्मक सोच, जीवन मुल्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न यस्ता प्रशिक्षणहरु महत्वपूर्ण हुने बताउनु भयाे । मध्यविन्दु नगरपालिकामा सञ्चालित हाम्राे खुसी पाठ्यक्रमले विधार्थीमा सकारात्मक प्रभाव पारेकाले याे विषय बहुउपयाेगी रहेकाे उहाँले बताउनु भयाे । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले गाउँपालिकाले शिक्षा क्षेत्रमा नयाँ नवप्रवर्तन र परिवर्तनकारी अभियान स्वरूप ‘हाम्रो खुशी पाठ्यक्रम’ ल्याएको जानकारी गराउनु भयाे। उहाँले कार्यशालाबाट प्राप्त सुझाव, सल्लाह र योजनालाई मूर्त रुप दिई पालिकाभित्रको विद्यालय तहमा कार्यान्वयन गरिने प्रतिवद्धता जनाउनु भयाे ।
पाँच दिनसम्म सञ्चालन हुने कार्यशालामा शिक्षा क्षेत्रमा क्रियाशील शिक्षक, विद्यालय प्रशासन र स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेकाे छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्