विज्ञप्ति निकाल्दै प्रशासनले भन्यो,”प्रत्यक्ष सिकाई नगर्नू”

खबरकलम संवाददाता/असोज ८: खबरकलम डटकममा प्रशासनको विभेदकारी नीति भन्ने शीर्षकमा समाचार प्रकाशन भएपछि आज जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक विज्ञप्ति जारी गरी प्रत्यक्ष कक्षा संचालन नगर्न निर्देश गरेको‌ छ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले २०७७ साल भदौ ३१ गते जारी गरेको विज्ञप्तिमा शैक्षिक संस्था तथा शैक्षिक क्रियाकलाप प्रत्यक्ष रुपमा गर्न नपाइने कुरा उल्लेख थियो।

हेर्नुहोस्,भदौ ३१ गतेको निर्देशन

तर, ठीक त्यसको विपरित जिल्लाका ११ वटा पालिकाका विभिन्न सार्वजनिक विद्यालयहरुले प्रत्यक्ष कक्षा संचालन गरेका थिए। खुला रुपमै सार्वजनिक विद्यालय खुलेर विद्यार्थी विद्यालय पोशाकमा नै जान थालेपछि जिल्लाभित्रका केही निजी तथा आवासीय विद्यालयले सो बारे ध्यानाकर्षण समेत गराएका थिए। तर, सम्बन्धित पालिका र प्रशासन तथा प्रहरीको समेत उपयुक्त भूमिका नभएपछि उनीहरुले पनि सम्पर्क कक्षाको रुपमा सीमित विद्यार्थी बोलाएर पूर्ण रुपमा स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर विद्यालय खुला गरेका थिए।

निजी विद्यालयमा सिकाई केन्द्रको शैलीमा केही विद्यार्थी बोलाएर गृहकार्य दिँदा नै जिल्ला प्रशासन कार्यालय स्याङ्जा तथा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभेदपूर्ण व्यवहार गरेका थिए। बर्दीधारी प्रहरी नै विद्यालय पठाएर बन्द गराउने कार्यले “विद्यालय शान्ति क्षेत्र” भन्ने सरकारको भनाईलाई नै खिल्ली उडाएको निजी विद्यालयका प्रिन्सिपलहरुको गुनासो रहेको छ।

प्रशासनको त्रुटिपूर्ण व्यवहारबारे समाचार प्रकाशन भएपछि र धेरै शिक्षक, अभिभावक तथा विद्यार्थीबाट नै उक्त कार्यको विरोध भएपछि आज प्रशासन कार्यालय स्याङ्जाले अर्को विज्ञप्ति जारी गरी अर्को सूचना नभएसम्मका लागि प्रत्यक्ष सिकाई क्रियाकलाप नगर्न नगराउन सूचित गरेको छ

। तर, यस अघि नै आफैले जारी गरेको निर्देशनमा प्रशासन र प्रहरी निरीह बनेपछि यो पटक पनि प्रहरी र प्रशासनको भूमिका समन्वयकारी र समतामूलक हुनेमा शंका छ। विद्यार्थीले आफूले पढ्न पाउने हकबाट उनीहरुलाई वञ्चित नगर्न र सार्वजनिक तथा आवासीय विद्यालय बीच बिभेद नगर्न पनि खबरकलम डटकम जिल्ला प्रशासन कार्यालय स्याङ्जा तथा जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई हार्दिक अनुरोध गर्दछ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आज जारी गरेको विज्ञप्ति

यो पनि पढ्नुहोस् “अनुगमन र आफ्नै आदेशमा निरीह प्रशासन,विभेदपूर्ण व्यवहार गरेको आरोप

Share Post on Social media