सेल्फी हिल (भालुपहाड) फराकिलो पार्ने काम सुरु, पहिचान मेटिनेमा‌ धेरैको चिन्ता

खबरकलम संवाददाता/असोज ९: स्याङ्जा जिल्लाको प्रख्यात पर्यटकीय स्थल भालुपहाडमा बाटो फराकिलो पार्ने काम सुरु भएको छ।

घुम्ती काटिँदै (भालुपहाड)

ठूलो पहाडको बीचबाट काटिएर गएको बाटो, पहाडको निकध तल खोँचमा बग्ने सेतीखोला र घुम्तीको माथिल्लो भागमा बनाइएको शिवको मन्दिर यस भालुपहाडका मुख्य आकर्षण थिए।

बुटवल, भैरहवा, पोखरा लगायत भारतबाट समेत आउने पर्यटकको लागि विश्राम गर्ने ठाउँ रहेको यस भालुपहाड युवायुवतीको भने मुख्य आकर्षण नै रहेको छ। ठूलाठूला सल्लाका रुखको वन र रमणीय ठाउँ भएकैले युवापुस्ताको मुख्य क्रेज रहेको यस ठाउँलाई पछिल्लो समयमा “सेल्फी हिल” समेतले चिनिन्छ।

धेरै नेपाली चलचित्र तथा म्युजिक भिडियोमा समेत यस स्थानको दृश्य देख्न सकिन्छ।‌यस ठाउँको विकास र प्रवद्र्धनको निमित्त पुतलीबजार नगरपालिका, आँधीखोला गाउँपालिका र फेदीखोला गाउँपालिकाले गुरुयोजना समेत तयार गरिसकेका छन्।

आफैमा प्राकृतिक सुन्दरताले भरिपूर्ण यस स्थानलाई मानवीय कारणले खल्लो बनाउन नहुने साथै चिनारी र पहिचान मेट्न नहुने भन्दै केही स्थानीयले यस स्थानको सडक फराकिलो पार्ने कार्यको विरोध समेत गरेका छन्।

केही दिन अघिमात्र भीरकोट युवा आवाज र पहिलो पाइला नेपाल स्याङ्जाका युवाहरुले यस ठाउँमा फर्फराइएको राष्ट्रिय झण्डा पूरानो भएर नयाँ फेरेका थिए।

Share Post on Social media