ठगीको आरोपमा अस्ट्रेलियामा दुई नेपाली पक्राउ ll
२०४६ साल असारको एक साँझ आमालाई असजिलो भयो । आमालाई असजिलो बनाउने म थिएँ, उहाँको पेटमा । रात छिप्पिँदै गयो, आमालाई व्यथाले झन् च्याप्दै लग्यो । पीडा र छट्पटी बढेसँगै आमालाई घरबाट बाहिर निकालियो । पिँढीको एक छेउमा गुन्द्रीको बार लगाइयो र म त्यही गुन्द्रीले बेरेको सानो चेपमा जन्मिएँ ।
आफ्नो जन्मकथा आमाबाट सुन्दा १० वर्षकी थिएँ । मेरो कपाल मुसार्दै आमाले मेरो जन्मकथा भन्दैगर्दा उहाँका आँखाबाट किन आँसु झरे ? त्यसबेला मैले बुझ्न सकिन ।
म जन्मिँदा खुब बर्सिए’थ्यो रे आकाश । सायद, आफैँ जन्मिएको घरभित्र आफ्नी छोरी जन्माउन नपाउँदा त्यसैगरी रोए’थ्यो होला मेरी आमाको मन।
खै, कुन विवशताले मेरी गर्भिणी आमालाई, गर्भमै सन्तान बोकेर मामाघर पुर्यायो । आफैँ जन्मेहुर्केको घरभित्र आफ्नी छोरी जन्माउन नपाउँदा पोल्यो कि पोलेन होला मेरी आमाको मन ? ११ दिनसम्म असारे झरीमा छोरी च्यापेर पिँढीमा बिताएका मेरी आमाका अनिँदा रातहरूसँग किन पग्लिन सकेन मेरो समाजको सम्वेदना र भत्किन सकेन एउटा कुसंस्कारको पर्खाल ?
त्यसताका मेरी आमाले घरभित्रै सुत्केरी हुन्छु भनेर किन विद्रोह गर्न सक्नुभएन ? त्यतिबेला आकाशबाट असारे झरी बेसी झर्यो होला कि मेरी आमाको आँखाबाट आँसु ? समयको एक हुण्डरी निलेर बाँचेकी आमालाई आजसम्म सोध्ने हिम्मत गर्दैन मेरो मनले।
जे होस् म मामाघरमा जन्मिएँ । आमा पनि ११ दिनपछि तङ्ग्रिनुभयो । मेरो न्वारन गर्न भने मेरो बुबाको बुबा अर्थात् आमाका ससुरा आउनुभयो । न्वारन भएको केही दिनमा हजुरबाले मलाई आफ्नो घर लैजानुभयो । आमा जन्मिएको घरमै जन्मिएर पनि म त्यो घरकी भइनँ । मेरो आफ्नो घर त मेरो बुबाको घर पो रहेछ । न्वारनको केही दिनमा घर पुगेकी मैले त्यही घरमा बिताएँ, जीवनको लगभग दुई दशक समय । यो अवधिमा मैले घामपानी, हुरीबतास र रहरहरू कटाएँ । मलाई कहिल्यै लागेन यो घर पनि मेरो होइन । तर, कुनैदिन मलाई यही घरले पराइको व्यवहार गर्नेछ भन्ने मलाई लागेन।
तर, विडम्बना एकदिन बुबाले मेरो निधारमा कसैको नामसहितको टीका टाँसिदिएपछि यति लामो समय आफ्नो ठानेको घर आफ्नोे भएन । छिनभरमै माइतीघरमा परिणत भयो । घरमात्रै होइन, जन्मिँदै लिएर आएको गोत्र पनि मेरो भएन । विवाहमण्डपमा बाहुनले मेरो कानमा उनको मुख जोड्दै गन्हाउने स्वास फालेर भनेथे– मैले पाएको अर्को गोत्र । उनको आवाजसँगै निस्किएको सास मेरो नाकमा ठोक्कियो । तर, मेरो कानले पटक्कै ठम्याउन सकेन- विवाहपछि म कुन गोत्रकी भएँ भनेर ।
त्यसपछि म मेरो घर मानेर कसैको घरमा भित्रिएँ । दुःखै–दुःखको पहाडले किचिएर म सुखीपुर पुगेँ । जीवनको दुईवर्षका घाम–पानी त्यही घरको छानोले छेक्यो । अबको मेरो आयुभरिको घर यही हो भनेर खुब मायाले मुसारेँ । लिपपोत गरेँ । घरभित्र कयौं खुसी पनि पोखिए होला, आँसु पनि पोखिए होला । तर, खुसी र आँसुले मात्रै घर, घर बन्दो रहेनछ । सुखीपुरबाट पनि दुःखका थुप्रै चाङ बोकेर एकदिन म निस्किएँ । हिजोआज डेरामा बस्छु ।
घर भन्नु घामपानी ओत्ने छानो मात्रै होइन रहेछ। हिजोआज मन ढुङ्गाजस्तै गह्रौं हुन्छ। घर भन्नु त भावना रहेछ । यहाँ हरेक पटक ठोक्किने अपरिचितहरूले कयौं पटक मन पतझर बनाइदिएका छन्, मेरो घरको ठेगाना सोधेर । म आफैँ भने ठेगाना हराएकी यात्री भएकी छु । सुन्नेहरूलाई सामान्य लाग्दो हो । तर, आफैँलाई भने जति बुझाए पनि मन ऐंठन पर्ने रहेछ बेला-बेला ।
माइतीघर पनि आफ्नो घर हुँदा मात्रै हुँदो रहेछ। आफ्नो घर नै नभएपछि कसरी माइतीघर भन्नु ? मेरो घर यही हो भन्न पनि मन पटक्कै तयार हुँदैन । मेरा बुबाले केही लाख ऋण काढेर माइती बनाएका हुन्। मेरै घर बसाउन बाले काढेको ऋणका आसामीले बाको दैलो धाउन नछोड्दै भत्किएको मेरो लोग्नेको घरलाई आफ्नो भन्ने अधिकार एउटा कागजले छिनिसक्यो। त्यसपछि पुनः अर्को घर जोड्ने हिम्मत ममा आएन।
हरेक पर्वमा सबै आफ्ना घर जान्छन् । म फेरि अमिलिन्छु । कुन गाउँको टिकट काँटेर, कुन दिशाको गाडी समातौं। समयसँग विद्रोह गर्न नसकेकी आमालाई बारम्बार सम्झन्छु । आज समय फेरिएको छ। म हरहिसाबले विद्रोह गर्न सक्छु, मेरो अधिकारका लागि मेरो मनका लागि । तर, समय फेरिएर मात्रै पनि त नहुने रहेछ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्