अर्जुनचौपारीको आग्रीखर्कमा घुम्ती वडा कार्यालय सञ्चालन

साउन ६/स्याङ्जा: गाउँ-गाउँमा सामाजिक सुरक्षा भत्ता पुर्याएको अर्जुनचौपारी गाउँपालिकाले घुम्ती वडा कार्यालयको सुरुवात गरेको छ ।

राज्य पुर्नसंरचनाका क्रममा वडा कार्यालयबाट टाढा रहेका गाउँमा वडाको सेवा पुर्याउने उदेश्यले घुम्ती वडा कार्यालय स्थापना गरी सेवा प्रदान गर्न थालिएको हो। वडा कार्यालय सिमलचौरबाट सबैभन्दा टाढा अर्थात सवारीसाधनबाट डेढ घण्टा टाढा रहेको गाउँ आग्रीखर्क पर्वतको महाशिला गाउँपालिकासँग जोडिएको गाउँ हो ।

वडा नम्बर ३ को वडा कार्यालयले आग्रीखर्कका पाँच वर्षभन्दा धेरै पहिलाबाट मालपोत कर नदिएका ४९ घरधुरीमा घुम्ती कार्यालय मार्फत मालपोत सेवा दिएको हो । वडाले पहिलो चरणमा मालपोत कर गाउँमा पुगेर लिएको बताउँदै वडाध्यक्ष शोभाकान्त काफ्लेले अब जन्म दर्ता, मृत्यु दर्ता, नाता प्रमाणिकरण, सामाजिक सुरक्षा भत्ता जस्ता सेवाहरु एक महिना भित्रै दिने बताए।

पालिका निर्माण जनतालाई छिटो छरितो सेवा दिने उदेश्यले भएको बताउँदै अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले अब सेवाबाट टाढा रहेका टोलमा पुगेर सेवा प्रदान गर्ने बताए। पालिकाले सेवा दिएकोमा खुसी व्यक्त गर्दै आग्रीखर्कका टिकाराम लम्सालले गाउँ-गाउँमै सेवा दिएकोमा वडा र पालिकाप्रति अभार प्रकट गरेका छन्।

छ वटा वडाहरु रहेको पालिकाका दुर्गम रहेका आग्रीखर्क जस्तै राम्चे, निबुवाबोट, सिर्घु, दारेगौँडा जस्ता टोलमा पुगेर हरेक महिना जनताका अत्यावश्यक सेवा पालिकाले दिनेछ ।

Share Post on Social media