“दल परिवर्तन नगरी मत परिवर्तन गरेपनि देशको विकास हुन्छ” राजेन्द्र लिङ्देन

भदौ ३०/स्याङ्जा: राष्ट्रिय प्रजान्तन्त्र पार्टी स्याङ्जाले आयोजना गरेको जिल्ला व्यापी बृहत आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले दल परिवर्तन नगरी मत मात्र परिवर्तन गरेपनी देशको विकास हुने बताएका छन्।


आगामी मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचनमा राप्रपालाई जिताउन मत माग्दै देश दौडाहामा निस्केका केन्द्रीय अध्यक्ष लिङ्देनले बुधबार राप्रपा स्याङ्जाले आयोजना गरेको उक्त सभामा जनतालाई आफ्नो दल र दलका नेताहरुलाई सुधार्नको लागि साथै देशको विकास देख्न चाहनेले दल परिवर्तन नगरी मत मात्र परिवर्तन गरेर राप्रपालाई हलो चुनाव चिन्हमा मत दिई विजयी गराउन अनुरोध गरे ।


स्याङ्जा जिल्ला सदरमुकामस्थित पुतलीबजारमा आयोजित उक्त कार्यक्रममा उनले राजनीति गर्न भ्रस्टाचार नगरी पनि गर्न सकिने बताउँदै आफुले राजनैतिक यात्रा गरेबाट कुनै भ्रस्टाचार नगरेको र यदि भ्रष्टाचार गरेको पुष्टि गरे नोकर बस्ने कुरा समेत जनाएका थिए । उनले राप्रपाले भ्रस्टाचारको राजनीति यो जुनि मात्र होईन अर्को जुनिमा पनि नगर्ने भन्दै भ्रस्टाचार गरेर खानु आमाको रगत खानु बराबर ठानेको बताएका थिए । आफू पटकपटक मृत्युको मुखबाट फर्केर आएको व्यक्ती रहेको , अब केही नगरी होईन केही गरेर देखाओस भनेर नै भगवानले अर्को जुनि दिई पठाएकोले जनताले भरोसा गरेर जिताए भने केही परिवर्तन गरेर देखाउने लिङ्देनले बताए । अन्य पार्टीहरुलाई आजसम्म पटकपटक मत दिई निर्वाचनमा विजयी गराएर पठायौँ तर देशको विकास तथा परिवर्तनमा ध्यान नदिएको हुँदा उनले यसपालि विवाहमा छोरीलाई अन्माए झैँ सोच विचार गरेर मात्र आफ्नो भोट दिन आग्रह गरे । गलत नेता र पार्टीलाई सुधार्ने मौका कार्यकर्ताले नै सहि उम्मेदवार र पार्टी हेरी मत परिवर्तन गरेर देखाउनुपर्ने कुरा जनाएका थिए ।


अहिलेकै स्थानीय निर्वाचनमा विजयी भएका काठमाडौंका बालेन र धरानका हर्कले सहि पार्टी र नेतृत्व चयन गर्यो भने देशमा परिवर्तन ल्याउन सकिने आधार देखाएको राप्रपा केन्द्रीय अध्यक्ष लिङ्देनले बताए ।उक्त कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्यहरु हिक्मत जंग कार्की ,तोरण बहादुर गुरुङ र उदय प्रसाद पोख्रेल , गण्डकी प्रदेशका अध्यक्ष पन्चराम गुरुङ ,पुर्व उपसचिव मदन बहादुर कार्की ,भुतपुर्व सैनिक संघका केन्द्रीय अध्यक्ष प्रकाश जंग कार्की , महिला नेत्री छमकला कुँवर लगायतले उपस्थित सम्पुर्णलाई सुभकामनासहित राप्रपालाई आउँदो निर्वाचनमा हलो चुनाव चिन्हमा भोट दिई जिताउन आग्रह गरे ।

Share Post on Social media