विश्व हिन्दु युवा संघ स्याङ्जाले पृथ्वी जयन्तिको अवसरमा सम्पन्न गर्यो वक्तित्वकला प्रतियोगिता

पौष २७/स्याङ्जा: विश्व हिन्दु युवा संघ स्याङ्जाले पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसको अवसरमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका स्थित छायाँक्षेत्र मन्दिरको सभाहलमा आयोजना गरेको उक्त कार्यक्रममा १४ जना विद्यार्थीले प्रतिष्पर्धा गर्दै पृथ्वीनारायण शाह र उनको राष्ट्रिय एकीकरण अभियानको बारेमा चर्चा गरेका थिए।

विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि भीरकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष दीपेन्द्र केसी, विशिष्ट अतिथि विश्व हिन्दु महासंघ भीरकोटका अध्यक्ष तथा भीरकोट नगरपालिका वडा नं ८ का वडाध्यक्ष नन्दलाल खनाल, वालिङ नगरपालिका वडा नं ११ का वडाध्यक्ष दण्डपानी पँगेनी, नेपाली कांग्रेस भीरकोट उपसभापति विष्णुमाया काफ्ले, वालिङ जेसिसका अध्यक्ष ध्रुव पँगेनी, छायाँक्षेत्र मन्दिर समितिका अध्यक्ष पीताम्बर श्रेष्ठ लगायतले आफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रममा निर्णायकको भूमिका कमल अर्याल, मिलन समीर तथा कृष्ण श्रेष्ठले गरेका थिए।

“पृथ्वीनारायण शाह र राष्ट्रियता” शीर्षकमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रथम स्थान कन्साइन्स माविका निशान अर्याल, द्वितीय स्थान भुम्रे मावि वालिङका पोषकान्त लुइँटेल, तृतीय स्थान बालोदय माविकी विनिशा खनालले प्राप्त गरेका थिए।

उक्त वक्तित्वकला प्रतियोगिताको सञ्चालन भने विश्व हिन्दु युवा संघ स्याङ्जाका सचिव हरि रेग्मीले गरेका थिए। उक्त वक्तित्वकला प्रतियोगितामा स्याङ्जा जिल्लाका करिब १५ वटा विद्यालयले सहभागिता जनाएका थिए। कार्यक्रममा करिब ६० जनाको सहभागिता रहेको थियो।

विश्व हिन्दु युवा संघ स्याङ्जाले स्याङ्जा जिल्लाको सबै पालिकामा पृथ्वीनारायण शाहको तस्विर समेत राख्न आग्रह गर्दै ज्ञापनपत्र समेत बुझाउने निर्णय गरेको छ।

Share Post on Social media