अर्जुनचौपारी गाउँपालिकाको दोस्रो चौमासिक सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न

खबरकलम संवाददाता/चैत्र २४: अर्जुनचौपारी गाउँपालिका स्याङ्जाको दोस्रो चौमासिक सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

दरौँखोला मिडिया प्रालिद्धारा संचालित खबरकलम डटकमको सहजीकरण र अर्जुनचौपारी गाउँपालिकाद्वारा आयोजित सार्वजानिक सुनुवाईमा आर्थिक वर्ष २०७९÷०८० को दोस्रो चौमासिक सम्म भए गरेका प्रगति विवरणबारे प्रतिवेदन प्रस्तुत गरिएको थियो।

कार्यक्रममा सहभागीहरुले शिक्षा र स्वास्थ्य र खानेपानीका बारेमा आफ्ना गुनासाहरु राखेका थिए । अर्जुनचौपारी गाउँपालिकाको वडा नं ६ को दरौँ पोखरीस्वाँरामा भएको सार्वजानिक सुनुवाईमा वडास्तरमा रहेका स्वास्थ्य केन्द्रहरुमा २४ सै घण्टा सेवा प्रवाह हुनुपर्ने, ल्याब परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्ने, तथा अन्य विविध समस्याहरुको उचित व्यवस्थापन हुनुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै सहभागीले सामुदायिक विद्यालयहरुमा गरिने सरुवा मेरिटको आधारमा हुनुपर्ने, अंग्रेजी माध्यम भनी संचालन भएका विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा समेत जोड दिएका थिए । साथै सहभागीहरुले अर्जुनचौपारी गाउँपालिकाले गरेका कामप्रति सन्तुष्टि समेत व्यक्त गरे। अर्जुनचौपारी गाउँपालिकाको नयाँ निर्वाचित टीम र कर्मचारीको उचित तालमेलका कारण प्रगति गर्न सकिएकोमा धन्यवाद समेत व्यक्त गरेका थिए।

पछिल्लो समय पालिकामा विकासले फड्को मारेको भन्दै सिंहदरबारको अधिकार गाउँगाउँमै महशुस गरिएको समेत सहभागीले प्रतिक्रिया दिएका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिकाबासीलाई आधारभूत आवश्यकताहरु शिक्षा, स्वास्थ्य, खानेपानी, सडक जस्ता आधारभूत आवश्यकताको सहजताका लागि पालिका प्रतिवद्ध भएर अगाडि बढेको बताए। पालिकाभित्र संघ तथा प्रदेशको योजना अन्तर्गत संचालित लिफ्टिङ खानेपानीलाई निरन्तरता तथा दिगोपनाका लागि विद्युत निशुल्क उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे।

अध्यक्ष प्रकाश तिवारीका अनुसार, ‘हामी पालिका बासीको दैनिकि परिर्वतनका लागी प्रतिवद्ध भएर लागिपरेका छौँ । उज्यालो पालिका घोषणाका लागी हामी लागिपरिरहेका छौँ । पालिकाका हरेक विकास तथा निर्माणका योजनाहरुमा स्थानीयको समेत प्रत्यक्ष सहभागिता र निगरानि आवश्यक रहन्छ । तसर्थ पालिकाको विकासका लागी जनप्रतिनिधिसंगै स्थानिय बासी समेत सँगै हुनुपर्छ ।’

यहि आर्थिक वर्षमा हेलु-अर्जुनचौपारी सडक कालोपत्रे सम्पन्न गरिने भन्दै यसले पालिकाबासीलाई सिधा राजमार्ग जोडिनका लागी सहज हुने जानकारी प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतले बताए।

कार्यक्रममा उपप्रमुख सपना गुरुङले पालिकामा न्यायिक सेवालाई चुस्त राख्न वडा तहमा न्यायिक समिति मार्फत काम गरिएको बताइन् । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनका लागि विभिन्न सीपमुलक तालिमहरु प्रदान गरिएको भन्दै महिलाहरुलाई संगठित बनाई विकास निर्माणमा समेत सहभागि गराईएको गुरुङको भनाई थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उज्जवल बस्नेतले पालिकाको कार्यप्रगतिको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए। कर्मचारी तथा प्रशासनिक फाँटले प्रदान गरेको सेवाप्रवाहमा उठेका प्रश्नहरुको एकमुष्ट जवाफ दिँदै प्रशासकीय अधिकृत बस्नेतले सम्पूर्ण सेवाग्राहीलाई धन्यवाद ज्ञापन समेत गरेका थिए। आफ्ना वडाहरुमा प्रदान गरिएका सेवाहरुको गुणस्तरबारे उठेका प्रश्नहरुको जवाफ भने सम्बन्धित वडाध्यक्षहरुले दिएका थिए।

कार्यक्रममा झण्डै २०० को सहभागिता रहेको थियो।

Share Post on Social media