विरुवा गाउँपालिकाको तेह्रौँ गाउँसभा सम्पन्न, आर्थिक वर्ष २०८०/८१ को बजेट ४८ करोड ७५ लाखको हुने

असार ३१/स्याङ्जा: विरुवा गाउँपालिकाको तेह्रौँ गाउँसभा सम्पन्न भएको छ। पटकपटक स्थगित हुँदै आएको उक्त गाउँसभा अन्तत: असार २९ गते सम्पन्न भएको हो।

गाउँसभाले गाउँपालिका अध्यक्ष सूर्य कुँवरले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष भगवती शर्माले प्रस्तुत गरेको बजेट पारित गर्दै ४८ करोड ७५ लाख ६७ हजार ६ सय रुपैयाँको वार्षिक बजेट समेत घोषणा गरेको छ। जसमा नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ८ करोड ५३ लाख, नेपाल सरकार सशर्त अनुदानतर्फ २१ करोड ८५ लाख, संघीय राजस्व बाँडफाँड तर्फ ७ करोड ४१ लाख ८२ हजार ६ सय, प्रदेश वित्तीय समानीकरण अनुदानतर्फ १ करोड ७ लाख ३० हजार, प्रदेश राजस्व बाँडफाँड तर्फ ४८ लाख ८५ हजार, प्रदेश समपूरक अनुदान ५० लाख रहेको छ।

यसैगरी आर्थिक वर्ष २०८०/८१ मा चालू खर्च कुल रु ३३ करोड १६ लाख ६२ हजार ६ सय र पूँजीगत खर्च १५ करोड ६२ लाख ५ हजार रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।

विरुवा गाउँपालिकाले “संवृद्ध विरुवा, सुखी विरुवाबासी” भन्ने मुल नाराका साथ विरुवा गाउँपालिकाको प्रमुख सडक राङखोला- धोवादी सडकखण्डलाई प्राथमिकताका साथ स्तरोन्नति र कालोपत्रे गर्ने, कृषि र पर्यटनलाई विशेष जोड दिएर कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ। विपद् व्यवस्थापनका लागि समेत गाउँपालिकाले १ करोड बजेट विनियोजन गरेको छ।

Share Post on Social media