विद्युत प्राधिकरणको लापरबाहीले स्थानीयलाई सास्ती

भदौ ४/ नारायणप्रसाद कोइराला, स्याङ्जा

नेपाल विद्युत प्राधिकरण स्याङ्जाको लापरबाही र ढिलासुस्तीले गर्दा भीरकोटका जनताले दु: ख पाएका छ्न्। भीरकोट नगरपालिकाको वडा ३ सामादीखोला गाउँमा रहेको ट्रान्सर्फमर पुनस्थापित नहुँदा गाउँलेहरू समस्यामा परेका हुन्।

गत असार २७ गते जलेको ट्रान्सर्फमर डेढ महिना बित्न लाग्दा पनि प्राधिकरणले पुनस्थपित गरेको छैन।जसका कारण गाउँहरूलाई कुटानी पिसानीमा समस्या भएको छ।असार २७ गते जलेको ट्रान्सर्फमर निरीक्षणका लागि ३१ गते आएका विद्युत प्राधिकरणका कर्मचारीहरूले बत्ती बल्ने गरि मर्मत गरेको भएपनि ट्रान्सर्फमर जडान नगरिदिँदा स्थानीयहरूले सास्ती बेहोर्नु परेको हो।

” ट्रान्सर्फमर जडानका लागि हामीले पटकपटक विद्युत प्राधिकरण स्याङ्जामा सम्पर्क गर्‍यौँ।बयरघारीदेखी गाउँसम्म ढुवानीको व्यवस्था पनि हाम्रै खर्चमा गर्छौं भन्दा पनि लामो समयसम्म प्राधिकरणले समस्या समाधानमा चासो दिएको छैन।” स्थानीय समाजसेवी विजय काफ्लेले स्मार्ट अखबारसँग गुनासो पोखे।

गाउँमै विद्युत लोड व्यवस्थापनका लागि वडा नं ३ को वडा कार्यालय नजैकै राखेको ट्रान्सर्फमर एक वर्ष हुनै लाग्दा पनि प्रयोगमा आएको छैन् । गाउँ ट्रान्सर्फमरविहिन हुँदा कुटानी पिसानीका लागि १ सय देखि १ सय ७० रूपैयाँ (एकतर्फी ) भाडा तिरेर डाँडाकोट र बयरघारी जानुपर्ने बाध्यता भएको स्थानीय गृहणी पार्वती काफ्लेले दु:खेसो पोखिन् ।

वडा नं ३ का वडा अध्यक्ष केशरबहादुर खड्काले जनताको गुनासो आएपछि प्राधिकरणमा पटकपटक फोन सम्पर्कको प्रयास गरेको तर फोन सम्पर्क हुन नसकेको बताए।

ट्रान्सर्फमरको विषयमा विद्युत प्राधिकरण स्याङ्जाका प्रमुख प्रताप बरालसँग सम्पर्क गर्दा सडकको अवस्थाका कारण प्राधिकरणको सवारी साधन गाउँ पुग्ने नसक्ने भएकाले ढिलाई भएको बताए। स्मार्ट अखबारसँग कुरा गर्दै उनले भने , “पुरानो ट्रान्सर्फमर चार्ज गर्ने र ट्रान्सर्फमर फेर्ने काम अबको एक हप्ता भित्रै गर्छौ। “

वडा नं ३ मा बुटबल पावर कम्पनी लिमिटेड , नेपाल विद्युत प्राधिकरण र सामुदायिक बचत तथा ऋण सहकारी, बिरूवाद्वारा बितरित सामुदायिक बिजुली गरि ३ थरी बिजुली छ। तर प्राधिकरण र विपिसिको लापरबाहीले गर्दा स्थानीयलाई विद्युतीय उपकरण प्रयोगमा समस्या छ। बिपिसिको बिजुली प्रयोग गरिरहेका स्थानीयहरूले राइसकुकरमा भात पकाउन समस्या भएको बताए। बत्ती बाल्दा भात पाक्न घण्टौ लाग्छ तर यसको समाधान गर्न सेवा प्रदायक र स्थानीय निकायले कुनै पहल नगरेको उनीहरूको गुनासो छ।

Share Post on Social media