सुर्योदय साकोस स्याङ्जाद्वारा रजत जयन्तीको अवसरमा लोगो सार्वजनिक, अभियान २५ को घोषणा

पौष १८/स्याङ्जा: खबरकलम संवाददाता:


स्याङ्जाको सुर्योदय साकोसले आफ्नो २५ औं स्थापना दिवस तथा रजत जयन्तीको अवसरमा लोगो सार्वजनिक तथा अभियान २५ को घोषणा गरेको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका-३ बाड्खोला स्थित सुर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो केन्द्रीय कार्यालयमा २५ औं स्थापना दिवस तथा रजत जयन्तीको अवसरमा मंगलबार दिउँसो पत्रकार सम्मेलन आयोजना गरि लोगो सार्वजनिक गरेको हो ।

संस्थाको स्थापना कालदेखि विभिन्न आरोह अवरोहका बाबजुद पनि यहि पौष २५ गते उल्लासमयका साथ २५ औं रजत जयन्ती मनाउन अभियान २५ समेत तय गरेको संस्थाका अध्यक्ष हुम बहादुर कुमालले बताए ।

संस्था र सदस्य बिच अपनत्व विकास गर्ने, संस्थामा आवद्ध सदस्यहरुको आयस्तर वृद्धि गर्ने, समग्र कारोवारमा वृद्धि गर्ने, सुरक्षित ऋण लगानी तथा भाखा नाघेको ऋण व्यवस्थापन गर्ने साथै सहकारी सचेतना, वित्तीय साक्षरता र प्रविधि साक्षरताको माध्यमबाट आम मानिसहरुले वर्तमान अवस्थामा सहाकारीलाई हेर्ने धारणामा परिवर्तन ल्याउने लगायतका उद्देश्य र सफलतापुर्वक सम्पन्न गर्ने लक्ष्यका साथ अभियान २५ तय गरेको उनले बताए । अभियान २५ अन्तर्गत यहि पौष २३ गते स्याङ्जा सदरमुकाममा रक्तदान कार्यक्रम गर्ने, उत्कृष्ट बचतकर्ता, सफल उद्यमी तथा उत्कृष्ट सेवाग्राही, प्रविधि मार्फत उत्कृष्ट कारोबार गर्ने, प्रारम्भिक तदर्थ समिति, १० वर्ष माथी कार्यरत कर्मचारी, जेष्ठ सदस्य सम्मान तथा पत्रकार सम्मान कार्यक्रम रहेका छन् ।

त्यस्तै, सहकारी सचेतना, सरसफाइ, खाद्यान्न वितरण, उद्यमशिलता, सदस्यसङ्ग सुर्योदय अन्तरसम्वाद, परामर्श, उत्प्रेरणा तथा जनचेतनामूलक कार्यक्रम, योगदानमा आधारित सदस्य सुरक्षा राहत घोषणा, सुर्योदय अक्षयकोष घोषणा, युवा सद्भावना, महिला सद्भावना दुत घोषणा कार्यक्रम रहेको अध्यक्ष कुमालले बताए ।

अध्यक्ष कुमालले सहकारीमा नियमित बचतको महत्त्व विषयक पालिका स्तरीय निबन्ध प्रतियोगिता, जिल्ला स्तरीय सुर्योदय हाजिरीजवाफ प्रतियोगिता, विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम तथा ५,१०,१५,२० र २५ वर्षे दीर्घकालीन बचत योजना घोषणा कार्यक्रम समेत रहेको जानकारी दिए ।

अभियान २५ अन्तर्गत नै बिरुवा गाउँपालिकामा स्वास्थ्य शिविर संचालन लगायतका कार्यक्रम गरि २५ गते स्थापना दिवस विषेश रजत जयन्ती समारोह मनाउने कार्यक्रम रहेको छ ।

२०५५ पौष २५ गते सुर्योदय क्लबमा सम्बद्ध ३ युवाहरुले रु.२० का दरले रु.६० बचत संकलन गरि सुर्योदय बचत समुहको रुपमा स्थापना भएको समुहलाई २०५७ भदौ २२ गते जिल्ला सहकारी कार्यालय स्याङ्जामा तत्कालीन सहकारी ऎन २०४८ अन्तर्गत दर्ता नं. ७४ कायम गरि सुर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्याङ्जा बनाइएको हो ।

प्रारम्भिक अवस्थामा पुतलीबजार नगरपालिकाको १३ वटा वडाहरुलाई कार्यक्षेत्र बनाई वित्तीय सेवा प्रदान गरेको उक्त संस्थाले २०७१ सालदेखि लागू हुने गरि सहकारी विभागबाट स्याङ्जा जिल्ला कार्यक्षेत्र भएको स्वीकृति प्राप्त गरि जिल्लाभर सेवा केन्द्र विस्तार गरेको छ ।

सदस्यहरुलाई आर्थिक तथा सामाजिक रुपमा सशक्तीकरण गराई सेवा र स्रोतको पहुँचमा पुर्याई सरल र सहज रुपमा सेवा प्रदान गर्ने लक्ष्यका साथ स्याङ्जाका ४ वटा पालिकाहरुमा ५ वटा सेवा केन्द्रहरु संचालन गरि करिब १० हजार ९ सय ४० जना शेयर सदस्यहरु मार्फत कारोबार संचालन गर्दै आएको संस्थापक अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए । जसमा पुतलीबजार नगरपालिका-१ सदरमुकाममा, वडा नम्बर ३ बाड्खोलामा, आँधीखोला गाउँपालिका-५ जुग्लेमा, बिरुवा गाउँपालिका-१ विरुवामा र चापाकोट नगरपालिका-७ साँखरबाट संस्थाले हाल सेवा प्रवाह गर्दै आएको छ । उनले निकट भविष्यमा सेवा विस्तार गर्न बाँकी रहेका ७ वटा पालिकाहरुमा कम्तिमा १ वटा सेवा केन्द्र संचालन गरि सेवा प्रदान गर्ने लक्ष्य रहेको जानकारी दिए । संस्थाले सदस्य जमानत र धितोको आधारमा मात्र कर्जा प्रवाह गर्दै आएको र धितो लिलामी अहिलेसम्म नगरेको संस्थाका संरक्षक समेत रहेका श्रेष्ठले बताए ।

फरक प्रकृतिका ३ वटा सहकारी संस्थाहरु बिच एकीकरण गरि कारोबार शुरु गरेको सुर्योदय साकोसको ७ करोड ६६ लाख ५ हजार ५ सय शेयर पूजीँ रहेको छ भने ७३ करोड २३ लाख २ हजार ८ सय ९० रुपैयाँ १२ पैसा कुल पूँजी रहेको छ ।

सुशासनयुक्त सुदृढ र विश्वासिलो संस्था बनाउन अग्रपंक्तिमा रहेको सुर्योदय साकोसले एशियाली ऋण महासंघ र नेपाल बचत तथा ऋण केन्द्रीय संघ लि. ले संचालनमा ल्याएको एक्सेस ब्राण्डिङ्ग कार्यक्रमका ८६ वटा सूचकहरुमा निरन्तर कार्यहरु गर्दै आएको संस्थाका प्रबन्धक धुर्वनारायण श्रेष्ठले जानकारी दिए ।
सम्मेलनमा पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, पत्रकारद्वय ओमप्रकाश शर्मा, अर्जुन काफ्ले, गोपाल जि.टि., मोहन गुरुङ, नारायण विश्वकर्मा, नारायण प्रसाद कोइराला लगायतले सुर्योदय सहकारी संघीय तथा प्रदेश सहकारी ऎन र नियमावलीलाई आत्मसाथ गरेर अगाडि बढेकाले सहकारीका मुल्य मान्यता र सिद्धान्तलाई अझ संस्थागत गर्न सहयोग पुगेको साथै संस्थामा कुनैपनी समस्या नभई बलियो अवस्थामा रहेको बताएका थिए ।

जिल्लाभरका दर्जनौं पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रममा सुर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष दीर्घ नारायण शर्माले स्वागत गरेका थिए भने संस्थाका अध्यक्ष हुम बहादुर कुमालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव मिरा मल्लले गरेकी थिइन् ।
वास्तवमै, सुर्योदय साकोस जिल्लामा मात्र नभई गण्डकी प्रदेशकै नमुना सहकारीमा पर्दछ ।

Share Post on Social media