विरुवा गाउँपालिकामा सातौं वडास्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न
फागुन २९/स्याङ्जा : विरुवा गाउँपालिका स्थानीय खेलकुद विकास समितिको आयोजनामा यहि फागुन २७ देखि २९ गते सम्म पुष्पमदन खेलमैदान विरूवा-८ मेथाभुरुङमा संचालित विरुवा गाउँपालिका अन्तर्गतका वडा स्तरीय सातौं अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
उक्त खेलकुद प्रतियोगितामा यसवर्षदेखि भलिबलसँगै ब्याडमिन्टन र सटपुट खेल समेत समावेश गरिएको थियो। गण्डकी प्रदेश सांसद् सुधीर पौडेलको प्रमुख आतिथ्यमा समापन समारोह आयोजना गरी विजेता समूहलाई पुरस्कार रकम, मेडल र प्रमाणपत्र प्रदान गरिएको उक्त समारोहमा पुरुष भलिबल तर्फ वडा नं ७, ५ र २ ले क्रमसः प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गरेका छन् भने महिला भलिबल तर्फ वडा नं ७, २ र ८ ले क्रमसः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् ।
पुरुष ब्याडमिन्टन तर्फ वडा नं ७, २ ले क्रमसः प्रथम, द्वितीय स्थान हासिल गरे भने वडा नं ५ र ६ ले तृतीय स्थान हासिल गरेका छन् । महिला ब्याडमिन्टन तर्फ वडा नं १, ७ र ८ ले क्रमसः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् र सटपुट तर्फ वडा नं ६, ७ र ८ ले क्रमश: प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् । समापन कार्यक्रममा बोल्दै विरुवा गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवरले विजेता खेलाडीलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा गाउँपालिकाले थप खेलकुद विधाहरु समावेश गर्दै यस्ता प्रतियोगिता सञ्चालन गर्ने जसले गर्दा खेलकुद क्षेत्रमा लाग्न चाहने र यस क्षेत्रमा आफ्नो करियर बनाउँदै गरेका खेलाडीहरूको सर्वाङ्गीण विकास हुने साथै प्रतिभावान खेलाडी उत्पादन भै विरुवा गाउँपालिकाको राष्ट्रीय रूपमा छुट्टै पहिचान हुने समेत बताउनुभयो।
गण्डकी प्रदेश सांसद् माननीय सुधीर पौडेलले आफूले खेल क्षेत्रमा आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण लगायत प्राविधिक क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सांसद मोहन रेग्मीको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै विरुवा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पोख्रेलले खेलकुद प्रतियोगिता सम्पन्न गर्न आ-आफ्नो ठाउँबाट सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद दिँदै कार्यालयको तर्फबाट विजेता खेलाडी समूहलाई बधाई ज्ञापन गर्नुभयो । साथै समापन समारोहको अध्यक्षता स्थानीय खेलकुद विकास समितिका अध्यक्ष गणेश गुरुङले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन स्थानीय खेलकुद विकास समितिका सदस्य सचिव एबं शिक्षा शाखा प्रमुख जीवलाल भुषालले गर्नुभएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्