के खुशीयाली सूचीको अग्रस्थानमा नेपाल पर्न संभव छ?

विश्व खुशीयाली सुची ( world Happiness index) मा लगातार सात वर्षसम्म पहिलो नम्बरमा पर्न सफल देश फिनल्यान्ड भनेर हिजो समाचार सुनियो। यो देश सन् 2018 देखि 2024 सम्म लगातार खुशीयाली सुचीमा प्रथम भएछ।

यो अध्ययन संसाररका करिब 5/7 वटा प्रतिष्ठित संघ सस्थाहरुको एकआपसको सहकार्यमा हरेक वर्ष गरिंदो रहेछ। आखिर के हो त यो खुसियाली मापन ? के हुन् यसका मापदण्ड ? किन गरिन्छ यो अनुसन्धान? यो अनुसन्धानले निकालेको परिणाम या निष्कर्ष साँच्चै सत्य नै होलान् ? यस्ता अनुसन्धानले आम मान्छेलाई के फाइदा होला ? हाम्रो जस्तो धन, ज्ञान र ईमानले अत्यन्तै दरिद्र देशले यस्ताखाले अनुसन्धानबाट के सिक्न सकिन्छ होला ? यस्तै यस्तै अनेकौं जिज्ञासाले एकछिन गम्भीर हुन बिवस बनायो।

मान्छेको वास्तविक सार्थक उदेश्य भनेको खुशी/आनन्द/ सन्तुष्टि प्राप्त गर्नु नै हो भन्दा लगभग सत्य होला। त्यसैले मानिसको जीवनको गुणस्तरीयता उसको खुशीयालीपनद्वारा निर्धारित हुन्छ भन्ने वैज्ञानिक तथ्य छ। यसै तथ्यलाई मध्यनजर राख्दै संसारका करिब 156 देशहरुमा कुन देशका नागरिक धेरै खुशी भनेर विभिन्न मापनको प्रयोगबाट यो अध्ययन गरिएको रहेछ।

यस्का मापदण्डहरुमा राज्यले हरेक नागरिकलाई प्रदान गर्ने निशुल्क अनि गुणस्तरीय शिक्षा, स्वास्थ, सुरक्षा, न्याय, सरकारप्रति नागरिकको भरोसा, नागरिकको चेतनाको स्तर, नागरिकको सोचाइ, बोली, व्यवहार, सकारात्मकपन, जिम्मेवारीता, जवाफदेहीता, राज्यप्रति नागरिकले निर्वाह गरेको दायित्व, उक्त राष्ट्रले अवलम्बन गरेको अर्थतान्त्रिक मोडेल, आर्थिक रुपमा धनी र गरिब नागरिकबीचको फासला, राज्यले हरेक नागरिकलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार, अन्धविश्वासमा आधारित व्यवहार , मानव- मानव बीचका विभिन्न भेदभाव, नागरिकको आर्थिक राजनीति सामाजिक स्वतन्त्रता, देशको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय मञ्चमा उक्त देशको हैसियत आदि सबै विधामा उत्कृष्ट भएकोले फिनल्यान्ड देश निरन्तर सात वर्षसम्म पहिलो नम्बरको कुर्चीमा विराजमान भएको रहेछ। यता हाम्रो देश नेपाल चाहिँ 93 औं स्थानमा परेछ वास्तविक हाम्रो हैसियत देखाइदिएकोमा उक्त अध्ययन संस्थालाई मुरिमुरि धन्यवाद।

के हाम्रो देश नेपाल पनि Finland झैं १ नम्बरमा पर्न सम्भव होला ? आजसम्म किन सकेन होला एक नम्बरमा पर्न ? अब हामी के कस्ता कोसिसका लागि अनि के कस्ता भीष्म प्रतिज्ञा गर्नुपर्ला पहिलो नम्बरमा पर्न। केहिछिन यो विषयको सेरोफेरोमा घोत्लिम है त।

अब एकछिन यता बहुभाषिक, बहुसांस्कृतिक रुपमा सम्पन्न, प्राकृतिक हिसाबले पनि संसारकै अग्रपंक्तिमा नाम आउने देश, सगरमाथाको देश, ऋषिमुनि हरुले ज्ञान प्राप्तिका निम्ति ध्यान गर्ने ज्ञानभूमिको देश, पशुपतिनाथको देश, गौतमबुद्धको देश, भगवान रामजस्ता मर्यादापुरुषको ससुराली देश, वीर गोर्खालीको देश, आजसम्म कहिल्यै कसैको गुलाम नभएको देश, हिमालको काखमा रहेको सुन्दर देश, हिजोका दिनमा हाम्रा देशका चिनारी यस्ता थिए तर दुर्भाग्य आज भने देशका चिनारी बदलिंदै छन् र ती बदलिंदा चिनारी यस्ता छन्। सुन तस्करीको अखडावाला देश, देशको मन्त्री र सचिव मिलेर आफ्ना नागरिकलाई अर्को देशको नक्कली शरणार्थी बनाएर नागरिक बेच्ने देश, आर्थिक हिसाबले एसियाकै दोस्रो तन्नम देश, समान आयात गरेर जवान निर्यात गर्ने देश, सत्ता प्राप्तिका निम्ति जे पनि गर्न तयार नेताहरुको देश, आफ्ना साना व्यक्तिगत स्वार्थका निम्ति आफ्नो विवेकलाई बन्दक राखी नेतृत्व गलत गर्दा पनि उही नेताको वाहवाह गर्ने लाखौंलाख लम्पट राजनीतिक दलका कार्यकर्ताको देश, उत्पादनमा नभई उपभोगमा रमाउने नागरिकको देश, युवाविहीन देश, भविष्य अन्धकार भएको देश, भ्रष्ट लोभी पापी नेताको देश, गैरजिम्मेवार कर्मचारीतन्त्रको देश, आर्थिक शैक्षिक अनि सामाजिक रुपमा गरिब जनताको देश, रक्षक नै भक्षक हुने देश, राजनीतिक अस्थिरतामा world champion देश इत्यादि अब हामीले यी पछिल्ला चिनारी जतिसक्दो छिटो बदल्नुको विकल्प छैन।

यदि समृद्ध देश अनि खुसी नागरिक हुने इच्छा हो भने अन्यथा हाम्रो देश अनि हामी नागरिकको अधोगति रोकिनेवाला छैन। इमानको जगमा उभिएको दुरदर्शी राजनीतिक नेतृत्व, हरेक तहमा विधिको शासन, क्षमता जिम्मेवार कर्मचारी अनि सचेत/तमिजवाला आम नागरिकको सकारात्मक समागमको परिणामले नै देशलाई समृद्धि र नागरिकलाई खुशी दिने हो।

आजभोलि भौतिक र प्राविधिक रूपमा शहर उच्च बिन्दुमा पुगेपनि अत्यन्तै उच्च जनघनत्व, चरम महँगी, शिक्षा स्वास्थ सुरक्षा न्याय जस्ता मानव जीवनका आधारभूत आबश्यकतासँग सम्बन्धित वस्तु तथा सेवाको मूल्य अति महँगो, बेरोजगारी, रसायनयुक्त खाना, प्राकृतिक स्रोतको चरम दोहन, पानीको अभाव , सामाजिक सम्बन्धको अन्त्य, भावनात्मकपना शून्य हुँदै गएकोले वास्तविक रुपमा मान्छे खुशी हुने क्रम डरलाग्दो रुपमा घटिरहेको यस मामलाका जानकार हरु बताउँछ्न्।

मानव सभ्यताका निम्ति यो निकै चिन्ताको विषय हो। त्यसैले राष्ट्रको समृद्धि र नागरिकको खुशीको अब नया अवधारणा अनि नयाँ परिभाषा समेत तयार पारी अघि बढनुपर्ने देखिन्छ। अन्यथा भौतिक र प्राविधिक रुपमा मात्रै प्रगति गरेर अग्ला भवन, चिप्ला सडक, चिल्ला गाडी, गुलिया खाना, फ्रीजको पानी, AC को हावाले मात्रै साँचो अर्थमा हुनेवाला लगभग केही छैन। मानवीय खुशीका निम्ति भौतिक र प्राविधिक विकास अनिवार्य होलान् तर पूर्ण भने कदापि होइनन। ( हजारौं वर्ष पहिले भगवान राम वनबास जान लाग्दा उनले पत्नी सीतालाई भन्छन् तिमी मसँग नजाउ तिमी दरबार मै बस म एक्लै बनबास जान्छु। तर उनकी पत्नी सीताले जवाफ स्वरुप आफ्ना श्रीमान रामलाई भन्छिन्। तिमीसँगै भए जङ्गल पनि दरबार हो तिमी विनाको त दरबार पनि जङ्गल हो। त्यसैले म पनि तिमिसँगै वनवास जान्छु भनेकी थिइन्।)

यस किम्बदन्ती ले निर्देश गर्छ कि वास्तविक खुशी केमा मिल्छ त्यसैले नै जीवनको गुणस्तरीयता निर्धारण गर्छ। भौतिक वस्तुको शक्तिभन्दा भावनात्मक शक्ति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा वैज्ञानिक अनुसन्धानबाट नै प्रमाणित भएका छ्न। हिजोआज धेरै मान्छेका आ-आफ्ना तर्क छन् कि खुशी हुनलाई रुपवान हुनुपर्छ, आर्थिक रुपमा धनी हुनुपर्छ, धेरै औपचारिक शिक्षा हासिल गर्नपर्छ, समाजमा मान प्रतिष्ठित हुनुपर्छ, आफुसँग मन मिल्ने सोच मिल्ने प्रेमीप्रेमिका या श्रीमान श्रीमती हुनुपर्छ, परिवार समाज राष्ट्र सही गतिमा हुनुपर्छ इत्यादि। तर, आजको वैज्ञानिक युगमा माथी उल्लेखित सबैजसो कुरा सम्पन्न भएका भनिएका मानिस पनि वास्तविक खुशी हुन नसकेको विभिन्न अध्ययनले छर्लङ्ग पारेको छ।

त्यसैले अब संमृद्धि र खुशीको नयाँ परिभाषा र अवधारणा तयार पारी उक्त समृद्धि र खुशीको बाटोमा ईमानदार भई दृढताका साथ लागियो भने हामीले विश्व खुशीयाली देशमा लगातार 7 वर्षसम्म आफ्नो एकछत्र वर्चस्व कायम राख्ने देश Finland लाइ पछि पार्न ढुक्क सकिनेछ।

अन्त्यमा, श्री पशुपतिनाथले सम्पुर्ण जीवन र जगतको रक्षा गरून्।

शिव अधिकारी महाशिला पर्वत हाल, पोखरा।

Share Post on Social media