एकै व्यक्ति एकै ठाउँका दुई विद्यालयको प्रअ र सञ्चालक, “सार्वजनिक सकाउँदै,निजी बनाउँदै”

खबरकलम डेस्क/साउन १९: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकास्थित दुई फरक विद्यालयमा एकै व्यक्ति प्रअ र सञ्चालक रहेको पाइएको छ।

अर्जुनचौपारी गाउँपालिकाको मुकामस्थित पञ्चकन्या माविका प्रअ विष्णुप्रसाद तिवारी सोही विद्यालयबाट ५०० मिटर दुरीमा रहेको निजी विद्यालय शितला आवासीय माविका समेत सञ्चालक रहेका छन्। विद्यमान शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली, २०५९ अनुसार सार्वजनिक विद्यालयको शिक्षकले अनुमति नलिई कार्यालय समयमा कार्यालयको कामकाजलाई खलल इुग्ने गरी अन्यत्र कामकाज गर्न नहुने, उद्योग, व्यापार, व्यवशाय समेत गर्न नहुने र कार्यालय समयभन्दा बाहेकको समयमा कामकाज गर्नुपरेमा समेत सम्बन्धित अधिकारीको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ। तर, पञ्चकन्या माविका प्राचार्य समेत रहेका विष्णुप्रसाद तिवारीले भने यी कुनैपनि व्यवस्थाको पालना नगरी निर्बाध रुपमा निजी विद्यालय सञ्चालन गरिरहेका छन्।

५०० मिटर पनि छैन, दुई विद्यालय बीचको दुरी।

प्रधानाध्यापकको रुपमा हाल कार्यरत रहेको सामुदायिक विद्यालय पञ्चकन्या मावि र उनी नै सञ्चालक रहेको निजी विद्यालय शितला आवासीय माविबीचको दुरी ५००‌ मिटर पनि छैन। यति नजिकको दुरीमा विद्यालय खोल्नुपर्ने आवश्यकता जे जस्तो रहेपनि दुवै विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थी भने एकै क्षेत्र र एकै समुदायका हुन्। सामुदायिक विद्यालयको प्रअ रहेर पनि धेरै पटक उनले आफ्नो निजी विद्यालयमा विद्यार्थीहरूलाई भर्ना गराउन भूमिका खेलेको र विभिन्न प्रलोभन समेत देखाएर आफ्नो निजी विद्यालयमा विद्यार्थीहरूलाई आकर्षित गराई भर्ना गराएको उनीमाथि आरोप छ।

शिक्षा विषयको पूर्णाङ्क घटाएर स्वास्थ्य विषय थप, आफ्नै श्रीमतीलाई जागिर

पञ्चकन्या माविका प्रअ विष्णुप्रसाद तिवारीले आफ्नो अनियमितता नीतिगत रुपमा समेत प्रष्ट देखाएका छन्। ४०० पूर्णाङ्क हुने गरी पठनपाठन भैरहेको शिक्षा विषयलाई उनले आफ्नै श्रीमतीलाई जागिर खुवाउन पूर्णाङ्क २०० मा सीमित गराएर स्वास्थ्य विषय थपेको समेत पाइएको छ। शिक्षक सेवा आयोग लगायतका सरकारी सेवामा प्रवेश गर्न महत्वपूर्ण रहेको शिक्षा विषयको पूर्णाङ्क घटाई व्यक्तिगत स्वार्थ पूरा गर्न विद्यार्थीको पठनपाठनमा समेत खलल पुर्याएको जानकारी सोही विद्यालयमा कार्यरत शिक्षकले नाम उल्लेख नगर्ने शर्तमा दिए। हाल समेत स्वास्थ्य विषय २०० पूर्णाङ्क हुने गरी पठनपाठन भैरहेको उनले जानकारी दिएका छन्। पञ्चकन्या माविमा स्वास्थ्य विषय अध्यापन गराउने तिवारीको श्रीमती उता शितला आवासीय माविकी प्रअ समेत रहेकी छन्।‌ यद्यपि विष्णुप्रसाद तिवारीले भने दोहोरो लाभ देखिने गरी आर्थिक क्रियाकलाप गराएका छैनन्।

सार्वजनिक विद्यालयको प्रअ, निजी विद्यालयको सञ्चालक र अध्यक्ष

नेपालको विद्यमान ऐन र कानूनले सामुदायिक विद्यालयको प्रअलाई निजी विद्यालयको सञ्चालक समितिको जिम्मेवार पदाधिकारी बन्ने छुट दिएको छैन। तर, विष्णुप्रसाद तिवारीले भने प्रचलित कानूनको धज्जी उडाउँदै निजी विद्यालयको सञ्चालक नै बनेर काम गरिरहेका छन्। सञ्चालक समितिको बैठकमा समेत विष्णुप्रसाद तिवारीले अध्यक्षको हैसियतले कामकाज र हस्ताक्षर गरिरहेको प्रमाण खबरकलम डटकमले फेला पारेको छ। कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गरेको कागजातमा विष्णुप्रसाद तिवारीले आफ्नो शेयर आठ हजार दुईसय पचास (८२५०) थान उल्लेख गरेका छन् भने उनीसँगै सञ्चालकको हैसियतमा रहेका अन्य दुईजनाको शेयर ३७५० र ३००० थान उल्लेख छ।

आफ्नो निजी विद्यालयको नतिजा निरन्तर सकरात्मक तर आफै प्रअ रहेको विद्यालय निकै कमजोर

कुनै समयमा जिल्लाको अब्बल विद्यालयको रुपमा रहेको पञ्चकन्या माविको एसएलसी (एसईई) परीक्षाको‌ नतिजा भने पछिल्ला वर्षहरूमा ओरालो लागिरहेको छ। शिक्षकहरुलाई उचित जिम्मेवारी दिन नसकेको, विद्यालय व्यवस्थापन समितिले दिएको सुझाव तथा निर्देशन अपहेलना गरेको, विद्यालयलाई उचित समय दिन नसकेको, निजी विद्यालयको सञ्चालकको हैसियतमा विद्यालयमा भूमिका खेलेको, निरन्तर ओरालो लागेको शैक्षिक गुणस्तर उकास्न कुनै दीर्घकालीन योजना बनाएर लागू नगरेको र पञ्चकन्या माविको शैक्षिक गुणस्तर सुध्रिएमा आफ्नो निजी विद्यालयको भविष्य समेत अप्ठ्यारोमा पर्ने चिन्ताले गर्दा अग्रसरता नदिएको गम्भीर आरोप छ। सामुदायिक विद्यालयको नतिजामा सुधार भए आफूलाई घाटा लाग्ने र आफ्नो निजी विद्यालयमा विद्यार्थी घट्ने समेत चिन्ताले उनले विद्यालयको गुणस्तर सुधार्न चासो दिएका छैनन्।‌

एसईई परीक्षा २०८० मा पञ्चकन्या माविको नतिजा ५.८८%, शितला आवासीय माविको ७७.७८%

भर्खरै मात्र सार्वजनिक भएको एसईई परीक्षा २०८० को नतिजामा समेत विष्णुप्रसाद तिवारी प्रअ रहेको पञ्चकन्या माविको नतिजा निकै कहालीलाग्दो देखिएको छ। जम्मा ५ प्रतिशत विद्यार्थी पञ्चकन्या माविबाट उत्तीर्ण हुँदा उनी नै सञ्चालक रहेको निजी विद्यालय शितला आवासीय माविबाट भने ७८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यद्यपि भर्खरै सार्वजनिक भएको कक्षा १२ को नतिजामा भने पञ्चकन्या माविबाट प्राविधिक धारमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएपनि साधारण तर्फ ४०.९% मात्र विद्यार्थी उत्तीर्ण भएका छन्।

यससम्बन्धी थप समाचारहरु निरन्तर फलोअपको रुपमा खबरकलम डटकमबाट प्रकाशित भैरहने छन्।‌

Share Post on Social media