एकपटक अर्जुनचौपारी गाउँपालिका घुम्न आउने वातावरण जरुर बनाउनेछौं। अध्यक्ष प्रकाश तिवारी

मंसिर १/स्याङ्जा : अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले कम्तीमा पनि एकपटक अर्जुनचौपारी गाउँपालिका घुम्न आउने वातावरण बनाउन आफू निरन्तर लागिरहेको बताएका छन्।

आज थापाथोकस्थित श्री थापाथोक कफी उत्पादक सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभामा प्रमुख अतिथिको भूमिकामा बोल्दै तिवारीले आफ्नो कार्यकालभित्र पालिकामा सम्झनलायक कसम गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे।

अर्जुनचौपारी गाउँपालिका कहाँ पर्छ? स्याङ्जामा! सिरुबारी गाउँ छ नि। त्यै ठाउँमा जाने बाटोमा पर्छ अर्जुनचौपारी बजार। वालिङ र पुतलीबजारको बीचमा पर्ने हेलु बजारबाट भित्र जाँदा आउने सानो बजार अर्जुनचौपारी हो। कति ठाउँमा यो उत्तर दिनुपरेको थियो। अध्यक्ष तिवारीले दु:खेसो गरे। “हेलु बजारमा जन्मेर हुर्केको एक बच्चा कहिल्यै अर्जुनचौपारी नआई पोखरा काठमाडौ पुग्छ। संभवतः त्यहाँबाट विदेश पनि पुग्छ। तर, उसले अर्जुनचौपारी कहाँ छ? चिन्दैन।” यसमा दोषी को हो? तिवारीले प्रश्न गरे।

आज कम्तीमा पनि स्याङ्जामा अर्जुनचौपारी गाउँपालिकाको चर्चा हुन्छ। अर्जुनचौपारी गाउँपालिकाले कार्यसम्पादन मूल्यांकनमा गण्डकी प्रदेशमा आफूलाई अब्बल बनाइरहेको छ। राष्ट्रिय स्तरमा पुरस्कार पाइरहेको छ। के यो गर्वको विषय होइन? के यसले पालिकावासीलाई गौरव महसुस गराउँदैन?

एउटा ३०, ३२ वर्षको युवा जो देशमा भविष्य नदेखेर दिनहुँ विदेशिएको समाचार देखिरहन पढिरहन परेको छ। एउटा ३२ वर्षको युवा जो काठमाडौं छाडेर गाउँ बनाउनुपर्छ भन्ने हुटहुटी बोकेर सबैकुरा त्यागेर समाजसेवा गर्छु भनी आयो। आज उही युवालाई असहयोग छ। केही गरे किन गर्यो? केही नगरे किन गरेन? पाइला पाइलामा असहयोग र अप्ठ्यारोको बाबजुद आफू चलिरहेको प्रकसश तिवारीको भनाइ थियो।

भएको के छ?

शिक्षा क्षेत्रमा सुधार गर्ने नीति अनुसार कार्यसम्पादन मूल्यांकन गरेरै शिक्षकको सरुवा बढुवा गर्ने पालिकाको योजना अनुसार अघि बढेको अध्यक्ष बताउँछन्। टोलटोलमा स्वास्थ्य उपचार सेवा पुर्याउने, घरघरमा ज्येष्ठ नागरिकलाई सेवा दिने अभियान नै चलिरहेको छ। हेलु-अर्जुनचौपारी सडक कालोपत्रे भएको छ। अर्जुनचौपारी-रापाकोट, अर्जुनचौपारी-दरौं सडक समेत कालोपत्रे हुन ठेक्का लागिसकेको छ।

देशमै पहिलोपटक नवग्रह शान्तिको पूजा हुने पूजास्थल निर्माण भैरहेको छ। म्याथम्याटिकल पार्क, बोटानिकल गार्डेन निर्माणाधीन परियोजनाको रुपमा अघि बढिसकेका छन्। प्रकाश तिवारीले बताए।

अर्जुनचौपारी गाउँपालिकाको पहिचानका लागि आफू लडेपनि आफूलाई घेरामै पारिरहेको उनको भनाइ थियो। खोलामा गिट्टी बालुवा चोर्नेलाई रोक्दा आफू नराम्रो, नपढाउने शिक्षकलाई कडाई गर्दा आफू नजाति, कामचोर कर्मचारीहरुलाई कारवाही सिफारिस गर्दा आफू बेठीक भनी प्रचार गरिएपनि आफ्नो कार्यकालमा भएका सही र सत्य समाचार पनि मिडियाकर्मीले बाहिर नल्याउनु भनेको अचम्मको कुरा भएको उनले बताए।

उनका अनुसार अब आफूसँग बसँकी रहेको करिब अढाई वर्षमा अर्जुनचौपारी गाउँपालिकाको पहिचान राष्ट्रिय स्तरको बनाउने र सम्झनलायक काम देखाएरै बिदा हुने इच्छा रहेको बताउँदै उनले त्यस समयसम्मकस लागि राम्रो र नराम्रो निष्पक्ष भएर छुट्याउन अनुरोध गरे।

भौतिक पूर्वाधार विकास, सुशासन र भ्रष्टाचारमुक्त समाज, शिक्षा क्षेत्रमा उल्लेख्य सुधारसहितको गुणस्तरीय शिक्षा र सक्षम सार्वजनिक विद्यालय, अत्याधुनिक सुविधा सहितको स्वास्थ्य सेवा प्रवाह आफ्नो मिसन रहेको तिवारीको भनाइ छ।

Share Post on Social media