निर्देशक एभरेष्ट सूर्य बोहराले “बा” चलचित्र बनाउने।

भदौ ५/खबरकलम: नेपाली चलचित्र निर्देशक एभरेष्ट सूर्य बोहराले चलचित्र “बा” बनाउने भएका छन्।

पिताको मुख हेर्ने दिन ‘कुशेऔँसी’ को साइत जुराएर चलचित्र बिकास बोर्डमा चलचित्र “बा” दर्ता गराएका उनले कोरोना कहरका कारण देश लकडाउनमा रहेका समयमा आफूले सिर्जनशील कार्य र पीडितहरुको सेवा गरिरहँदा ‘बा’को कन्सेप्ट तयार पारेको बताए। एभरेष्ट सूर्य बोहोरा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मका लागि कलाकारको छनोट कार्य भइरहेको छ।

यसअघि नै निकै हिट कान्छा, अग्निपरीक्षा, ठूली, भैरे जस्ता चलचित्रहरुमा निर्देशन गरिसकेका उनको ‘हेल्लो जिन्दगी’ भने प्रदर्शनको तयारीमा रहेको छ।

उनको “बा” फिल्म आगामी वर्षको कुशे औंसी अर्थात बाबुको मुख हेर्ने दिनमा रिलिज गर्ने योजना छ। निर्देशक बोहोरालाई पटकथा र सह–लेखनमा अभिमन्यु निरवीले साथ दिएका छन्। लमजुङ र मनाङका विभिन्न स्थानमा लकडाउनपश्चात खिचिने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहनेछ। फिल्मका गीतमा राजनराज शिवाकोटी, यम बराल र एलिस कार्कीको संगीत रहने छ भने कलाकारको को रहने भन्ने विषय टुङ्गो लागि नसकेको उनको भनाइ छ।

आमालाई धरती मान्ने तर बा लाई आकाश नमान्ने समाजको अघि बा को दु:ख, कर्तव्य र दायित्व चलचित्रमा उतारेर अलग छाप छोड्ने उनको योजना छ।

Share Post on Social media