लकडाउनले जुटायो भीरकोटका युवालाई,बनाए भीरकोट युवा आवाज।
भदौ ६/खबरकलम: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाका युवा लकडाउन र बन्दाबन्दीको समयमा एकजुट भएका छन्। पूरा विश्व र देशलाई नै कोरोनाले अत्याएको बेला यस ठाउँका युवाहरु भने सहकार्यको सामाजिक भावनाका साथ एक भएका हुन्।
भीरकोट नगरपालिकाका सबै वडालाई समेट्ने गरी कार्ययोजना अघि बढाइएको र बन्दाबन्दीको समयपछि एकीकृत भेला नै गरेर अघि बढ्ने सोचमा रहेको युवा अगुवा कृष्ण अर्यालले जानकारी दिए।
भीरकोट नगरपालिकामा मात्रै सीमित नभई स्याङ्जा जिल्लाभर युवा सचेतना गर्ने, मन्दिर, पाटीपौवा तथा सांस्कृतिक स्थलहरुको संरक्षण तथा संवर्धन गर्ने, सरसफाई कार्यक्रम सञ्चालन गर्ने, रक्तदान समूह गठन गरी रक्तदान कार्यक्रम समेत आयोजना गर्ने उनीहरुको कार्ययोजना रहेको छ।
सार्वजनिक सेवाप्रदायक निकायबाट हुने ढिलासुस्ती तथा अनियमितता विरुद्ध खरो रुपमा उत्रन उनीहरुले भीरकोट युवा आवाज नामक समूह नै गठन गरेका छन्। कृष्ण अर्यालको संयोजकत्वमा गठित उक्त समितिमा उपाध्यक्ष अशोक वसन्त क्षेत्री, सचिव विमल थापा, सह-सचिव सरोज अधिकारी, कोषाध्यक्ष रश्मी अर्याल, सदस्यमा दिपेश सुनार र रवि थापा रहेका छन्। उक्त समूहको व्यवस्थापकमा पवन खनाल चुनिएका भीरकोट युवा आवाजका प्रवक्ता आनन्द खनालले जानकारी दिए।
सामाजिक अभियन्ता रुपमा अघि सरेका सम्पूर्ण जुझारु युवाहरुलाई सामाजिक मूल्य मान्यतामा अडिग रहँदै मानवीय सेवा गर्न र सँधै समाजको विकास निर्माणमा अग्रसर हुन, अनियमितता विरुद्ध खबरदारी गर्न र भ्रष्टाचार विरुद्धको अभियानमा सहभागी हुन शिक्षक,विद्यार्थी, पत्रकार, राजनैतिककर्मी, स्थानीय बुद्धिजीवी र सबैको साथ सहयोग र प्रेरणा मिलिरहोस्।
आफ्नो प्रतिक्रिया दिनुहोस्