स्याङ्जामा सुरु भयो, पहिलो पाइला नेपालको फुड बैंक
जीवन अर्याल/भदौ १७: कोरोना भाइरस (कोभिड-१९) ले कसैलाई विश्राम दिएको छ भने कसैलाई विपत्ति दिएको छ। विश्रामको रुपमा लिनेहरु लकडाउनको मागमा छन्। विपत्ति सहनेहरु लकडाउनको मारमा छन्। हुँदा खाने र हुने खाने बीचको वर्गीय विभेद निरुत्साहित गर्न गाँस, बास र कपासको सुनिश्चितता गर्नु आजको आवश्यकता हो।
यही कुरालाई मध्यनजर गर्दै स्याङ्जामा क्रियाशील युवाहरुले “पहिलो पाईला नेपाल स्याङ्जा” शाखा स्थापना गरेका छन्। यस संस्थामार्फत पुतलीबजार न.पा. १ शहीदचोकमा खाद्य सामाग्री संकलन तथा वितरण केन्द्र ( Food Bank ) को सुरुवात गरी आर्थिक रुपले विपन्न परिवारका सदस्यलाई राहत उपलब्ध गराउने उनीहरुको योजना छ।
स्मृति काफ्लेको संयोजकत्वमा गठित उक्त ‘पहिलो पाइला नेपाल स्याङ्जा’ शाखामा झलक अर्याल, ख्याम गौतम, ममता केसी, मनोज जि.टी., शंकर चापागाईं, अनिश नेपाली जस्ता सक्रिय युवाहरु रहेका छन्।
आज मात्रै फुड बैंकमा संकलन भएको खाद्यान्न उनीहरुले ३६ जना विपन्न परिवारका सदस्यलाई वितरण गरेको उक्त संस्थाकी संयोजक स्मृति काफ्लेले जानकारी दिइन्। आजबाट सुरु गरिएको उक्त कार्यक्रममा १३ जना सहयोगी मनहरुले नुन, तेल, चामल, चिनी, दाल जस्ता खाद्यान्न सहयोग गरेको र यो क्रम बढ्दो क्रममा रहेको स्मृति काफ्ले बताउँछिन्।
कम्तीमा सकेको सहयोग गरौँ। उनले सहयोगी मनलाई सहयोगको आह्वान समेत गरेकी छन्। “हुनेले सहयोग गरौँ। नहुनेले लिएर जाऔँ।” अभियान यस अघि देशका विभिन्न स्थानमा संचालन भैसकेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्