पोलको प्रतिक्षामा सडक बत्तीहरु

नारायण कोइराला/भदौ २३: स्थानीयको सक्रियता र रोजबड युथ सर्कलको सहजीकरणमा आँधीखोला करिडोरको सिमलचौर सडकखण्डमा आधा दर्जन भन्दा बढी सडक बत्ती जडान गरिएको झण्डै एक वर्ष भैसकेको छ। १५ देखी २८ वाट सम्मका बत्तीहरूले रातको समयमा उक्त सडक खण्ड झलमल हुने गरेको छ।स्थानीय जनताहरूले आफ्नै खर्चमा विद्युतीय सामग्री खरिद गरी बाँसको पोलमा सडक बत्ती जडान गरेका थिए। यस पछाडि नगरपालिकाले दुई पटक पोल वितरण गरिसकेको छ।

तर,सडक बत्तीको दीगो व्यवस्थापनको लागि नगरपालिकामा विद्युतीय पोलको माग गरेपनि कुनै सुनुवाइ नभएको स्थानीय युवा सन्तोष रोकाले बताएका छ्न्। स्थानीय निकायले कुनै सहयोग नगरेपछि युवाहरूले वडा कार्यालय र नगरपालिकाप्रति असन्तुष्टि प्रकट गरेका छन्। “भोट माग्न त आउलान् नि? त्यति बेलै मुखभरीको जवाफ दिनी हो।” आक्रोशित मुद्रामा जेष्ठ नागरिक अम्बिका खत्रीले भनिन् । ओहोरदोहोर गर्ने क्रममा नगर प्रमुख छायाराम खनालले स्थानीयको प्रयासको प्रशंसा गर्दै विद्युतीय पोल उपलब्ध गराउने मौखिक वचन दिएको भए पनि सोको व्यवहारिक कार्यन्वयनको प्रतीक्षामा छन् स्थानीय, र बाँसको पोलमा झुन्डिएका सडक बत्तीहरू। वडा अध्यक्ष लक्ष्मण खत्रीले वडाले सडक बत्तीको निम्ति रकम विनियोजन गर्न नसक्ने बताउँछन् ।

Share Post on Social media