स्याङ्जामा संविधान दिवसको रौनक

असोज ३/स्याङ्जा: दोश्रो जनआन्दोलन २०६२/६३ तथा संविधान सभाको मुख्य उपलब्धि ‘नेपालको संविधान २०७२’ जारी भएको आज ६ वर्ष पूरा भएको छ।

संविधान जारी भएको छैठौं वर्षको अवसरमा नेपाल सरकारले आफ्ना नागरिकलाई घरघरमा दीप प्रज्वलन गरी संविधान दिवस मनाउन अनुरोध गरेबमोजिम स्याङ्जा जिल्लाको विभिन्न ठाउँमा संविधान दिवस धुमधामले मनाइएको छ। स्याङ्जा जिल्लाका मुख्य बजारहरु पुतलीबजार, वालिङ, गल्याङ, भीरकोट लगायतका स्थानमा दीप प्रज्वलन गरी संविधान दिवसको शुभकामना समेत आदानप्रदान भएको जानकारी युवाहरुले खबरकलमलाई गराएका छन्।

पछिल्लो समय फुड बैंक कार्यक्रम गरी समाजसेवामा लागिरहेको पहिलो पाइला नेपाल स्याङ्जा शाखाको आयोजनामा आज स्याङ्जाको सदरमुकाम पुतलीबजारमा संविधान दिवस मनाइयो। स्याङ्जा शाखाकी संयोजक स्मृति काफ्लेको अनुपस्थितिमा दीप प्रज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रम संयोजन गरेका झलक अर्यालले संविधानले दिएका हक अधिकारको संरक्षण र प्रयोगका लागि यस्तो कार्यक्रम गरिएको बताए।

स्थानीय वासिन्दा, राजनैतिक व्यक्तित्व, समाजसेवी, पत्रकार आदिको उपस्थितिमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको झलक अर्याल बताउँछन्।

अनाथ,असाहाय, र पिछडिएका वर्गलाई राहत उपलब्ध गराउँदै आएको “पहिलो पाइला नेपाल, स्याङ्जा शाखा”ले स्याङ्जा जिल्लाको प्रमुख पर्यटकीय आकर्षणको रुपमा रहेको भालुपहाडमा भोलि राष्ट्रिय झण्डा फेर्ने कार्यक्रम समेत राखेको छ। यसअघि उक्त स्थानमा फहराइएको झण्डा पूरानो भएर च्यातिएको तस्विरसहितको समाचार पूर्व सचिव भिम उपाध्यायले आफ्नो फेसबुकमा लेखेपछि पहिलो पाइला नेपाल स्याङ्जाले पूरानो झण्डा परिवर्तन गर्दै नयाँ राष्ट्रिय झण्डा राख्ने जानकारी दिएको हो।

Share Post on Social media