धर्म तथा धार्मिक संस्कृतिको संरक्षणमा लाग्दै स्याङ्जाली युवा

असोज २४/जीवन ढकाल:

आँधीखोला गाउँपालिका वडा नं ६ टिकाजामा अवस्थित भुजुङ्गे शिव मन्दिर बि.सं २०५२ सालमा स्थानीय ब्यक्तिहरुको सक्रियता तथा सम्पूर्ण गाँउलेहरुको श्रमदान तथा चन्दा संकलनमार्फत निर्माण गरिएको धार्मिक स्थल हो । यस मन्दिर निर्माण सम्पन्न भैसकेपछि शिवको मूर्ति स्थापनाको लागि गाउँले दाजुभाइ तथा दिदीबहिनीहरुले डोकोमा मूर्ति बोकी बृहत रुपमा भजनकीर्तन गर्दै मन्दिरमा स्थापना गरिएको थियो जसको समुद्घाटन आँधिखोला ६ निबासी तत्कालीन कृषि मन्त्री त्रिलोचन ढकालबाट २०५२ साल फागुनमा भएको थियो।

यस मन्दिरमा विभिन्न अवसरमा पुजाआजाका कार्यक्रम, ब्रतबन्ध तथा बैबाहिक कार्यक्रम समेत सम्पन्न हुने गर्दछ। तर, यस्ता धार्मिक तथा साँस्कृतिक सम्पदाहरुले पर्याप्त मात्रामा प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै गएका छन्। सोही कुरालाई ध्यानमा राखी यो लकडाउनमा अधिकांश युवा तथा बुद्धिजिवी गाउँमा रहेको अबस्थामा धार्मिक तथा पर्यटकीय स्थानमा रहेको भुजुङे शिव मन्दिरको अवस्था सुधार गर्न साविकको फापरथुम गा बि स का ६,७,८,९ वडाका साथै पुतलीबजार नगरपालिकाको वडा न १४ का समेत केही भाग (पातलेखर्क ,टोडके लगायतका) समेटी स्थानीय भेलाले ७ सदस्यीय निर्माण समिति गठन गरेको छ। उक्त समितिको अध्यक्षमा अर्जुन ढकाल रहने गरी श्री नरेन्द्र ढकाल ,श्री रमेश ढकाल ,श्री जीवन ढकाल अनुरागी ,श्री दिनेश ढकाल ,स्थानिय युवा क्लबका अध्यक्ष श्री राजु ढकाल र चण्डीमाइ आमा समूहका अध्यक्ष श्री ज्ञानुमाया ढकाल सदस्य रहने गरी ७ सदस्यीय निर्माण समितिलाई सम्पुर्ण अख्तियारीसहित मन्दिर पुनर्निर्माण भईरहेको जानकारी जीवन ढकालले दिए।

धार्मिक इतिहास बोकेको यस मन्दिरको आफ्नै विशेषता समेत रहेको पाइन्छ। पत्नी बियोगको पीडामा रहेका शिव भगवानले आफ्नी पत्नी सतिदेवीको मृत शरीर बोकी हिँड्दै गर्दा यो भुजुङे भन्ने ठाउँमा रहेको पानीको तलाउनेर विश्राम गरेको र तलाउमा पानी पिएको किम्बदन्ती रहेको पाइन्छ। २०५२ सालमा मन्दिर स्थापना भयपछि यो मन्दिरमा नियमित पूजाआजा गरिदै आएको छ।

स्थापनाकालदेखि आफ्नो जीवनको अन्तिमसम्म स्ब.श्री रेशमलाल ढकाल यस मन्दिरको मुल पुजारी रहेका थिए। उनले यस मन्दिरमा पूजा गर्दै गर्दा शिव भगवानले पटकपटक चेष्टा दिएको कुरा स्थानीयलाई समेत बताउने गरेको स्थानीय बृद्धा आमा अक्षरी ढकालले बताउनुभयो।

हाल मन्दिरको मर्मत तथा सम्भार, रङरोगन, मन्दिर अगाडि बन्न लागेको दुइटा पिल्लर मात्रै ठढाइएको गेटको पुर्ण निर्माण , मन्दिर वरिपरि चौतर्फी, भुइँ ढलान ,भजनसमूहका लागि भवन निर्माण ,मूर्ति राख्ने काम ,मन्दिर कम्पाउन्ड भित्र शिव पोखरी निर्माण गरी पोखरीको बीचमा शिवको मूर्ति स्थापना ,मन्दिर हाताभित्र फुल ,धुप लगायत सामाग्री पाउने ठाउँ निर्माण, मन्दिर बरपर १०८ पाला निर्माण , तारबारका साथै मन्दिर हाताभित्र बस्न मिल्ने खालको फलामको बेन्ची जस्तै कार्यहरु निर्माण भइ रहेका छन्।

कुल लागत खर्च ११ लाख लाग्ने अनुमान रहेको र अहिलेसम्म कुल ७ लाख ६० रकम स्थानीय दाताबाट उठेको तथा अझै उठ्ने आसा रहेको निर्माण समिति सदस्य श्री रमेश अधिकारीले जानकारी दिए।

आँधीखोला गाउँपालिकाभित्रकै अन्धा -अन्धी पछिको धार्मिक र पर्यटकीय मन्दिरलाई गाउँपालिका र वडाबाट कुनै सहयोग नहुँदा दु:ख लागेको निर्माण समिति सदस्य श्री जीवन ढकाल अनुरागीले बताउँछन्। गाउँपालिकामा पहल गर्छौँ। नभए तिहारमा देउसी भैलो खेलेर समेत मन्दिरको संरक्षण गर्न अग्रसर हुन्छौँ। उनले भने।

स्याङ्जा जिल्लाकै धार्मिक तथा पर्यटकीय महत्वको उक्त स्थानलाई स्थानीय निकाय र प्रशासनले ध्यान दिओस्।

Share Post on Social media