दुई पालिका जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न
कार्तिक १९/खबरकलम संवाददाता: स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका र अर्जुन चौपारी गाउँपालिका जोड्ने दरौँखोलामा झोलुङ्गे पुल निर्माण गर्ने कार्य सम्पन्न भएको छ।
कुल लागत ६१ लाख पचास हजार ८ सय ६७ रुपैयाँ ९० पैसामा निर्माण भएको उक्त झोलुङ्गे पुलको लम्बाई ९० मिटर रहेको छ। ४४५ घरधुरीका २३४४ मानिसले प्रत्यक्ष तथा अन्य मानिसले अप्रत्यक्ष रुपमा यस पुलबाट फाइदा लिन सक्ने बताइएको छ।
पुतलीबजार नगरपालिकाको नगद सहयोग तथा अन्य संस्थाको प्राविधिक सहयोगमा बनेको उक्त पुलको निर्माण कार्य सुरु २०७६ साल फागुन १५ मा भएको थियो भने समापन कार्य २०७७ असार २५ भित्र हुनुपर्ने थियो।
तर, चैतको ११ गतेदेखिको लकडाउन र कोरोना महामारीको सन्त्रासका कारण केही ढिलो गरी उक्त पुल संचालनमा आएको छ। यस क्षेत्रमा एउटा पनि पुल नहुँदा सर्वसाधारणलाई निकै फेरो यात्रा पर्ने गरी पुलको मुखसम्मको यात्रा गर्नुपरेको थियो भने विद्यार्थीहरु पनि निकै लामो बाटोको प्रयोग गरी विद्यालय जानुपर्ने बाध्यता थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस्