मृगौला पीडितको पीडाः मृगौला छ, प्रत्यारोपण गर्ने पैसा छैन

मंसिर १९/खबरकलम संवाददाता: वालिङ नगरपालिका–६ मिर्दीका कृष्ण प्रसाद अर्याललाई एक वर्षदेखि एउटै चिन्ता छ , श्रीमतीको उपचार खर्च कसरी जुटाउने । ‘अब थप उपचार गराउन पैसा छैन । अस्पतालमा पनि पचास हजार तिर्न भइसक्यो’ उनले भने, ‘म ३० वर्षको भए । पहिला सानो जागिर खान्थे । अहिले एक वर्ष भइसक्यो श्रीमतीको उपचारमा लागेको । साथमा ५ वर्षको छोरा पनि छ । उपचार खर्च कसरी जुटाउँ ?’
खाने, लाउने र कमाउने उमेरमा श्रीमती हिमा भुषाल अर्याको दुवै मृगौला फेल भएपछि उनका दिनहरु निकै कठिन बनेका छन् । पिडित कृष्ण प्रसादको घरमा कमाउने कोही छैन ।


‘हप्ताको आइतबार र सोमबार डायलासिस गराउन टिचिङ अस्पताल पुग्नुपर्छ,’ कृष्ण प्रसादले भने ‘एक पटक जाँदा १० हजार रुपैयाँ चाहिन्छ । ५० हजार त पहिले नै तिर्न बाँकी छ’ उनका अनुसार श्रीमती एक वर्षदेखि मृगौलाको समस्या देखिएको हो । श्रीमतीको दुवै मृगौला काम नलाग्ने भएपछि आफन्तहरु आर्थिक स्रोत जुटाउन खटिएको उनले बताए ।


श्रीमती भुषाल २६ वर्षकी भईन । बिहे गरेर घर जाँदा उनी ठिक–ठाक थिइन । छोरा पनि जन्माइन् । तर मृगौलामा केही समस्या देखिएपछि श्रीमानले पोखरा ल्याएर उपचार गराए । तर दबै मृगौला फेल भएपछि उनी काठमाडौं आए । बिगत एक वर्षदेखि उनी टिचिङ अस्पतालमा छन् । ‘मृगौला फेर्ने चाहाना छ, त्यत्रो पैसा जुटाउन सक्ने अवस्था नभएकाले डायलासिस गराउँदै आएको छु ।’ उनले भने, ‘ माग्ने ठाउँ सबै सकियो, अब त डायलासिस खर्च पनि कसरी जुटाउने भन्ने पिर पर्न थालेको छ ।’


कृष्र्ण प्रसादको घरमा बुढा बाबुआमा र बहिनीहरु छन् । श्रीमती भुषाललाई बचाउन माइतीपक्ष पनि मृगौला दिन तयार छन् । घर परिवारले पनि जसको मिल्छ उसैको दिन राजी छन् । मृगौला त छ तर पैसा छैन् ।
डाक्टरले मृगौला प्रत्यारोपण गर्न ३५ देखि ४० लाख खर्च लाग्छ भनेपछि रोएरै दिन कटाएको उनी बताउँन् । उनले दुखेसो पोखे ‘विहान साँझ हातमुख जोर्न समेत धौ छ, म गरीबले कसर उपचार गरुँँ ?’


कृष्ण प्रसादले परिवार उपचार सहयोगका लागि वडा कार्यालयदेखि नगरपालिका र सरकारी निकायमा धाईरहेको बताए । तर कतैबाट सहयोग नपुगेको उनी बताउँछन् ।

Share Post on Social media