भीरकोट नगरपालिका गण्डकी प्रदेशको दोश्रो बालमैत्री स्थानीय निकाय घोषित

फागुन २२/स्याङ्जा: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका स्याङ्जा जिल्लाको पहिलो बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्ने निकाय घोषित भएको छ।

आज एक कार्यक्रमका बीच भीरकोट नगरपालिकालाई गण्डकी प्रदेशको दोश्रो, स्याङ्जा जिल्लाको पहिलो तथा समग्र देशकै सातौँ बालमैत्री नगरपालिका घोषणा गरिएको हो।

भव्य कार्यक्रमको आयोजना गरी आज नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिएको जानकारी भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले दिएका छन्।

उक्त कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन रहेका थिए। भने विशिष्ट अतिथिको रुपमा माननीय संघीय सांसद नारायण मरासिनी, प्रदेश सांसाद मेखलाल श्रेष्ठ, प्रदेश विधायन सभाका संयोजक मोहन रेग्मी लगायतका विशिष्ट व्यक्तित्वहरु रहेका थिए।

उक्त कार्यक्रममा बोल्दै मेयर छायाराम खनालले भीरकोट नगरपालिका भित्र बसोबास गर्ने सम्पूर्ण बालबालिकालाई सुखी र स्वस्थ बनाउने प्रतिबद्धता जनाएका थिए। पोषण कार्यक्रम सञ्चालन गरी स्वस्थ बच्चालाई स्वागत गर्ने कार्यक्रम सफलताका साथ अघि बढाइएको उनको भनाइ थियो।

भीरकोट नगरपालिकाका समाजसेवी, उद्योगी, संचारकर्मी, सरोकारवाला, आमा समूह, बाल समूह, शिक्षक विद्यार्थी लगायत हजारौँको संख्यामा उपस्थित जनसमुदायले बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्ने साझा प्रतिबद्धता जनाएका छन्।

तथापि, भीरकोट नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्दै गर्दा धेरै व्यवस्थापकीय कमजोरी देखिएका थिए। पर्याप्त मात्रामा मानिस बस्ने कुर्सी नहुनु, चर्को घामको कारण विद्यार्थी लगायतमा समस्या देखिनु, साउन्ड सिस्टम राम्रो नहुनु लगायतका कमजोरी भएपनि भीरकोट नगरपालिका स्याङ्जा जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्ने निकाय हुनुले यस क्षेत्रको गरिमा बढेको छ।

सुखी र संबृद्ध भीरकोट नगरपालिका सदैव बन्न सकोस्। खबरकलम डटकमको शुभकामना।

Share Post on Social media