सिरुबारीमा भएको भलिबल प्रतियोगितामा पर्वतको भगेँरा विजयी, स्याङ्जाको राङ्खोला उपविजेता

फागुन २७/स्याङ्जा: राम बहादुर रोकाहा
स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर १ सिरुवारीस्थित कुर्ले झाँक्रीथानमा १० औं शिरसुवा गम्भीर सिंह गुरुङ स्मृतिकप भलिबल प्रतियोगितामा पर्वतको भगेँरा युवा क्लब विजयी भएको छ भने स्याङ्जाको राङ्खोला युवा क्लब उपविजेता भएको छ।

यहि मिति २०७८ साल फाल्गुन २३ गतेका दिन गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गर्नुभएको थियो भने २४ गते पुर्व सांसद एवं गण्डकी विश्वविद्यालयका कुलपति डा. गणेशमान गुरुङको प्रमुख आतिथ्यता , २५ गते गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोख्रेल नेपाली र नेपाली काङ्ग्रेस स्याङ्जा जिल्लाका सभापति राजु थापाको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता भएको स्थानीय समाजसेवी उर्मिला गुरुङले बताउनुभयो।

फाल्गुन २३ गतेदेखि आज २७ गतेसम्म भएको उक्त स्मृतिकप भलिबल प्रतियोगितामा १६ टिमभन्दा बढी टिमका बीच प्रतिस्पर्धा भएकोमा प्रथम हुने पर्वतको भँगेरा युवा क्लबले रु. एक लाख आफ्नो हातमा पारेको थियो भने उपविजेता स्याङ्जाको राङ्खोला युवा क्लबले रु. पचास हजारको बाजि मारेको र त्यस्तै तृतीय हुने पर्वतको महाशिलाले रु. पच्चीस हजार आफ्नो हातमा पार्दै तीनवटै क्लबलाई पदक समेत वितरण गरिएको आयोजक टिमका संस्थापक मेजर लिल बहादुर गुरुङले जानकारी दिनुभयो ।

विगत केही वर्ष अगाडिबाटै स्मृतिकप भलिबल प्रतियोगिता हुँदै आएको भएतापनी यसअघि गाउँपालिकाभित्र मात्रै प्रतियोगिता गर्दै आएको तर यस वर्ष भएको १० औं स्मृतिकपमा भने दायरा बढाई पर्वत जिल्ला र सोही आयोजक पालिकाको सिमानास्थित पालिकाहरुलाई पनि समावेश गरिएको मेजर लिल बहादुर गुरुङले बताउनुभयो ।

भ्याली पब्लिक विद्यालय भङ्गाल सुन्दरबस्ती काठमाडौंको प्रायोजनमा रहेको उक्त प्रतियोगितामा विद्यायले सहभागी भएका सम्पुर्ण टिमका खेलाडीहरु , स्वयंसेवकहरु र स्वतन्त्र पत्रकारहरुका लागि पोसाक(जर्सी) र क्याप समेत उपलब्ध गराइएको कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उक्त भलिबल प्रतियोगितामा नेपाल भलिबल संघका रेफ्रीहरु जीवन गुरुङ र विष्णु बहादुर थापा रहेका थिए भने सुपरिवेक्षण पूर्ण न्यौपानेले गरेको स्थानीय समाजसेवी उर्मिला गुरुङले जानकारी दिनुभयो ।
त्यस्तै ५ दिनसम्म भएको प्रतियोगिताको समापन कार्यक्रमको प्रमुख आतिथ्यता भने स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल , स्याङ्जाका प्रहरी प्रमुख एसपी राजिब बहादुर बस्नेत , स्याङ्जाका सशस्त्र प्रहरी बलका प्रमुख डिएसपी मोहन न्यौपाने र राष्ट्रिय अनुसन्धान विभाग स्याङ्जाका प्रमुख बिरेन्द्र सिंह कार्कीको रही सो कार्यक्रम भव्यताका र सभ्यताका साथ सम्पन्न भएको आयोजक टिमका संस्थापक मेजर लिल बहादुर गुरुङले जानकारी दिनुभयो ।

Share Post on Social media