भीरकोट नगरपालिकाको प्रशासकीय भवनमा टिप्दैन नेटवर्क, सेवाप्रदायक बेखबर

भदौ १६/स्याङ्जा: भीरकोट नगरपालिकाको प्रशासनिक कार्यालयभित्र नेपाल टेलिकम र एनसेल दुवैको नेटवर्क चल्दैन।‌

देशभर सरकारी दुरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले थ्रीजी सेवालाई अपग्रेड गरी फोरजी सेवा प्रवाह गरेको र फाइभ जी समेत परीक्षण गर्ने तयारी भैरहेको भनेपनि सिदार्थ राजमार्गसँगै जोडिएको भीरकोट नगरपालिकाको प्रशासकीय भवनमा भने नेपाल टेलिकमको नेटवर्कले काम गर्दैन।‌

नेपाल टेलिकम मात्र नभएर देशकै ठूलो फोरजी सेवा प्रवाह गरिरहेको निजी क्षेत्रको सबैभन्दा ठूलो दुरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको पनि नेटवर्क प्रशासकीय भवनभित्र टिप्दैन।

नगरपालिका भवनको बाहिरी प्राङ्गणमा मुस्किलले नेटवर्क टिपेपनि कुराकानी नबुझिने, आवाज काट्टिएर आउने, फोन नै नलाग्ने र फोन लागिहालेपनि कल काट्दा फोन नै ह्याङ्ग हुने समस्या देखिएको हो।

भौगोलिक रूपमा भीरकोट नगरपालिकाको प्रशासकीय भवन अलिकति गहिरो भागमा रहेको, भवनको संरचना समेत नयाँ रहेकाे र अन्य प्राविधिक कारणले नेटवर्क नटिप्नु स्वभाविक भएपनि नगरपालिकाकै प्रशासकीय भवनमा नेटवर्क नटिप्दा कार्यसम्पादनमा समेत समस्या भैरहेको नगरपालिकामा कार्यरत कर्मचारी बताउँछन्।

धेरै सेवाग्राहीले नगरपालिकाको प्रशासकीय भवनभित्र मोबाइलको टावर नटिप्ने बताइरहँदा सम्बन्धित सेवाप्रदायक निकाय भने यस विषयमा जानकार छैनन्।

Share Post on Social media