स्याङ्जामा ७ औं औद्योगिक व्यापार महोत्सव हुँदै, अन्तिम तयारी सकियो
नारायणप्रसाद कोइराला/स्याङ्जा: स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा जिल्ला सदरमुकाम स्याङ्जाको मालेबगरमा फागुन ६ गते देखि १८ गतेसम्म सञ्चालन हुने ७ औं संस्करणको स्याङ्जा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।
‘स्याङ्जा महोत्सवको आधार – कृषि, पर्यटन नै आर्थिक समृद्धिको पूर्वाधार’ भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको ८० प्रतिशत तयारी पूरा भएको स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका अध्यक्ष महादेव श्रेष्ठले जानकारी दिनुभयो। सोमबार उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले भन्नुभयो, ” स्टल निर्माणको काम बाहेका सबै तयारी पूरा भएको छ। प्रचारप्रसार र व्यवस्थापकीय कार्यहरू ८० प्रतिशत पूरा भएको छ।”
प्रतियोगितात्मक कार्यक्रम व्यवस्थापन समितिका संयोजक एवं संघका महासचिव रबिन्द्र के.सी. ले महोत्सवमा मौलिकता र परम्परा संरक्षणका लागि ५ वटा प्रतियोगिता संचालन हुने जानकारी दिनुभयो। उहाँका अनुसार परम्परागत रत्यौली, भजन चुड्का, विद्यालय स्तरीय सामुहिक नृत्य, पञ्चेबाजा र मम्मी डान्स (एकल आमा नृत्य) प्रतियोगिता संचालन हुनेछन्। पञ्चेबाजा प्रतियोगितामा सहभागी सबै टिमलाई प्रोत्साहन स्वरूप ५ हजार नगद पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक के.सी. ले जानकारी दिनुभयो। महोत्सवमा अगुवा कृषक तथा कृषि विशेषज्ञ बीचको अन्तरक्रिया कार्यक्रम, पश्चिमाञ्चल क्षेत्रका विभिन्न ऐतिहासिक एवं धार्मिक र साँस्कृतिक महत्व बोकेका पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी, महोत्सवस्थलबाट पशुपंक्षी, अटोमोवाइलहरूको प्रदर्शनी तथा विशेष छुटसहित बिक्री वितरण गर्ने व्यवस्था समेत मिलाइएको छ ।महोत्सवमा सूचना प्रविधि तथा शैक्षिक सामाग्री प्रदर्शनी हुनेछ भने साथै विभिन्न जातजाति, धर्म, सम्प्रदाय तथा संघ संस्थाका मौलिक सांस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरु, झाँकीहरू समेत प्रस्तुत गरिनेछ ।
महोत्सवमा २ सय २० वटा व्यापरिक स्टलहरू हुनेछन्।महोत्सवमा स्थानीय व्यवसायीको व्यवसाय प्रवर्द्धन गर्न स्टल बुकिङमा ३० प्रतिशत छुट दिइएको छ । यसैगरी कृषकहरूका लागि ३० वटा स्टल निशुल्क उपलब्ध गराइने उद्योग वाणिज्य संघले जानकारी दिएको छ। महोत्सवमा ८ करोड सम्मको आर्थिक कारोबार र ३ लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य राखिएको छ।स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले २०६३ साल देखि महोत्सव गर्दै आएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्