नवनिर्मित प्रहरी चौकी भवनको गण्डकी प्रदेश प्रहरी प्रमुख जोशीद्वारा उद्घाटन

भदौ १७/रामबहादुर रोका: जिल्ला प्रहरी कार्यालय स्याङ्जाको मातहतमा रहेको चिलाउनेबास प्रहरी चौकीको नवनिर्मित भवनको गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीद्वारा उद्घाटन सम्पन्न भएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले प्रहरी भनेको आम नागरिकका समस्याहरु समाधान गर्न लागिपर्ने जिम्मेवार निकाय रहेको बताउनुभयो । उहाँले उक्त भवनको निरीक्षक तथा अवलोकन गर्दै नवनिर्मित प्रहरी भवनबाट स्थानीयबासीलाई सहजीकरण गर्दै आम नागरिकहरुका हरेक गुनासो एवम् पीरमर्काहरु सम्बोधन गरेर शिष्टता र नम्रताका साथ नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न गराउनका साथै उच्च व्यवसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो ।


जिल्लाको आँधीखोला गाउँपालिकास्थित चिलाउनेबासमा प्रहरी चौकीको निर्माण गण्डकी प्रदेश सरकारको नियमित बजेटबाट सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक राजिब बहादुर बस्नेतले बताउनुभयो।

नवनिर्मित प्रहरी चौकीमा कार्यालय भवन , मेष , व्यारेक लगायतका भवनहरु निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।


उक्त नवनिर्मित प्रहरी भवनको उद्घाटन कार्यक्रममा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल , स्याङ्जा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजिब बहादुर बस्नेत , आँधीखोला गाउँपालिका अध्यक्ष विश्व पौडेल , स्थानीय जनप्रतिनिधि लगायतका स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

Share Post on Social media