स्याङ्जाका महिलाहरु कृषिमा आकर्षित!

जीवन अर्याल/स्याङ्जा

स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकाका महिलाहरु कृषिमा आकर्षित हुन थालेका छन्। कृषिप्रधान देश नेपाल भन्ने भनाईलाई चरितार्थ गर्दै उनीहरु परम्परागत रुपमा गर्दै आएको कृषिलाई व्यावसायिक रूपमा गर्न तल्लीन भएका हुन्।

गल्याङ नगरपालिका-११ लामाचौरका महिलाहरुले बि.सं. २०७५ सालमा कर्मचौर महिला कृषि उद्यमी समूह गठन गरी सामूहिक कृषिमा लागिएको उक्त समूहकी अध्यक्ष सुशिला कँडेल ढकालले जानकारी दिनुभयो। तरकारी,फलफूल तथा बिभिन्न बीउबिजन उत्पादन गरी स्वदेशी बजारमा निर्यात समेत गर्न लागिएको उहाँको भनाई छ। भिन्डी, करेला, घिरौँला, लौका तथा अदुवा र खुर्सानीको उत्पादन र बिक्रीबाट परिवारमा आर्थिक सहयोग समेत गर्न सकिएको उक्त गाउँका महिलाहरुको भनाइ छ। जीवन निर्वाह गर्न श्रीमानकै कमाइमा भर पर्ने उनीहरु हाल आफ्नो खर्च आफै चलाउन सक्ने, छोराछोरीको पढाई खर्चसमेत धान्ने, चाडपर्वको माचोमा आर्थिक जोहोसमेत गर्न सक्ने भएका र वार्षिक १ लाखभन्दा बढी बचत समेत गर्न लागेकाले वरपरका अन्य महिलाहरु समेत कृषिमा आकर्षित हुन थालेका उक्त महिला समूहका अधिकांश सदस्यहरुले जानकारी दिए।

उक्त गाउँका महिलाहरुले असारमा धान रोपाइँ जात्रा समेत गरेर उल्लेख्य महिला सहभागिता सुनिश्चित गरे। हाल २५ जना सदस्य रहेको उक्त महिला समूहले हालसम्म कृषिसम्बन्धी कुनै तालिम नपाएको समेत दुखेसो पोखे।

स्थानीय तह अथवा सरोकारवाला निकायले तालिम या कुनै सीपमूलक ज्ञानको व्यवस्था गरिदिए आगामी दिनमा झनै मजबुत र आधुनिक तरिकाले कृषिमा लाग्न प्रेरणा मिल्ने कर्मचौर महिला कृषि उद्यमी समूहका सदस्यहरुको धारणा छ। महिला उद्यम सम्बन्धी कार्यक्रम साँच्चै यस्ता महिलाहरुको माझ पुग्न सके कृषिमा केही गर्छु र परिवारलाई समेत आत्मनिर्भर बनाउँछु भन्नेहरुको लागि कोसेढुङ्गा सावित हुने थियो।

Share Post on Social media