मुक्तिनाथ बिकास बैंकद्वारा काजकिरिया राहत खर्च वितरण

कार्तिक २५/स्याङ्जा: राम बहादुर रोकाहा


मुक्तिनाथ विकास बैंक लिमिटेड अर्जुनचौपारी शाखा कार्यालयले बैंकको लघुवित्त कार्यक्रममा आवद्ध सदस्यको परिवारलाई काजकिरिया राहत खर्च वितरण गरेको छ।

“जनता बैंकमा होइन , बैंक जनतामा जानुपर्छ” भन्ने मुल नाराका साथ आधुनिक बैंकिङ , लघुवित्त र सीमित बैंकिङ्ग कार्यक्रम एकैसाथ संचालन गर्ने नेपालकै पहिलो बैंक मुक्तिनाथ विकास बैंक लिमिटेड स्याङ्जा अर्जुनचौपारी शाखा कार्यालयको लघुवित्त डेस्कको लघुवित्त कार्यक्रमकी सदस्य अर्जुनचौपारी गाउँपालिका-१ सिमलचौर निवासी याम कुमारी बिष्टका श्रीमान शेर बहादुर बिष्ट क्षेत्रीको गत असार ३० गतेका दिन असामयिक निधन भएको थियो ।

श्रीमानको निधनपश्चात् निजलाई बैंकले काजकिरिया राहत खर्च बापत चौध हजार पाँच सय रुपैयाँ(रु.१४,५००) प्रदान गरिएको बैंकको शाखा कार्यालय प्रमुख निर्मल मरासिनीले जानकारी दिनुभयो। उक्त रकमको चेक निजका घरपरिवारका अन्य सदस्यहरु , आफन्तहरु , स्थानीय बुद्धिजीवी , भद्रभलाद्मीहरुको उपस्थितिमा सोही वडाकी वडा सदस्य विष्णु कुमारी क्षेत्रीको रोहवरमा हस्तान्तरण गरिएको शाखा प्रमुख मरासिनीले बताउनुभयो।

उक्त कार्यक्रममा सोही वडाकी वडासदस्य क्षेत्रीले बैंकको “जनता बैंकमा होइन,बैंक जनतामा जानुपर्छ” भन्ने मुल नारालाई साँच्चिकै सार्थकता दिएको र बैंकले नाफामुखीभन्दा पनि सामाजिक कार्य गर्दै अर्जुनचौपारी गाउँबासीको सुखदुःख दुबैमा साथ दिँदै आएको कुरा जनाउँदै अब आउने दिनमा बैंकले सफलता तथा सामाजिक कार्यलाई निरन्तरता दिनेछ भन्ने अपेक्षा सहित सुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यस्तै सोही कार्यक्रममा मुक्तिनाथ विकास बैंक स्याङ्जा अर्जुनचौपारी शाखा कार्यालयका प्रमुख निर्मल मरासिनीले बैंकका सामाजिक उत्तरदायित्व अन्तर्गतका सेवासुविधा तथा समग्र समसामयिक घटनाका बारेमा जानकारी गराएका थिए, भने कार्यक्रम सोही शाखा कार्यालयका कर्मचारी अन्जु रोकाले संचालन गरेकी थिइन् ।

Share Post on Social media