पत्रकार लामिछानेलाई पत्रकार डोटेलको धम्की

स्याङ्जाका कान्तिपुरकर्मी तथा प्रेस चौतारी गण्डकी प्रदेशका सदस्य रोशन लामिछाने माथि पत्रकार प्रकाश डोटेलले सडकमै कुटपिट गर्ने धम्की दिएका छन् ।

शनिवार राति १० बजे फोन मार्फत डोटेलले सदरमुकाम स्याङ्जाको बीच सडकमा कुटपिट गर्ने धम्की दिएका हुन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको सदस्य समेत रहेका डोटेलले आफूले रोशन लामिछानेलाई केही नभनेको बताएका छन् । यद्यपि लामिछानेले फोन रेकर्ड सुरक्षित भएको र ज्यान सुरक्षाको माग गरेका छन् ।

पत्रकार डोटेलले रुखकटान र गोलियामा परिणत गरेबापत वन ऐन २०४९ को दफा ४९ (ण) को कसुरमा ऐ को दफा ५० (१) (ञ) बमोजिम जरिवाना गर्ने गरी जिल्ला अदालतले फैसला गरेको थियो । फौजदारी अभियोगमा दोषी ठहर भएका व्यक्तिलाई पत्रकार महासंघको सदस्य हुन नमिल्ने कानुनी व्यवस्था छ । सोही विषयलाई लिएर अदालतले दोषी ठहर गरेका व्यक्तिलाई पत्रकार हुन नमिल्ने उजुरी डोटेल विरुद्ध पर्दै आएको थियो ।

यसै विषयलाई लिएर नेपाल पत्रकार महासंघमा मेरो विरुद्ध उजुरी हाल्ने तँ हैन प्रकाश डोटेललाई चिनेको छस् भन्दै धम्की दिएको लामिछानेले बताए । ‘हैर्दै जा तेरो साइन मसँगछ , तेरो लागि दुर्भाग्य हुन्छ । मैले बजाँए भने गाह्रो नमान् है ,’डोटेल बोलेको अडियोमा सार्वजनिक भएको छ । पत्रकार महासंघले सदस्यता शुद्धीकरण र जिल्ला जिल्लाबाट परेको उजुरी माथि छानबिन गर्दैछ । छानविनमा भएको उजुरी कस्ले हाल्यो भन्ने विषय गोप्य रहने प्रावधान छ । तर , पत्रकार महासंघबाट तेरो हस्ताक्षर सहितको उजुरी मेरो म्यारेन्जरमा छ भन्दै डोटेलले थर्काएका छन् ।

नेपाल पत्रकार महासंघमा भएको गोप्य सुचना तथा उजुरी चुहावट हुनु गलत रहेको प्रेस चौतारी नेपाल स्याङ्जाका अध्यक्ष हरि प्रसाद सुवेदी(सुशील) ले बताए । उनले भने , ‘पत्रकारिता क्षेत्र अन्यत्रबाट त असुरक्षित थियो नै तर पत्रकारबाट नै असुरक्षित हुनु भनेको हाम्रो समाजको दुर्भाग्य हो । ’ यो विषयमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश र जिल्ला शाखा स्याङ्जाले छलफल गराएर जानुपर्ने धारणा अघि सारेको छ । लामिछानेले आफ्नो ज्यानको सुरक्षा पाउँ भनी जिल्ला प्रहरी कार्यालय स्याङ्जामा निवेदन दिएका छन् ।
Source: Nepali aawaj

Share Post on Social media