भीरकोटमा माटो परीक्षण तथा घुम्ती शिविर कार्यक्रम सुरु

जीवन अर्याल/फागुन ९: भीरकोट नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका किसानलाई कृषि कार्यमा सहजीकरण गर्नका निमित्त माटोको नमुना संकलन तथा परीक्षण गर्ने गरी घुम्ती कार्यक्रम सुरु गरेको छ।

नगरपालिकाको कृषि शाखाले आजबाट माटोको नमुना संकलन तथा परीक्षण गर्ने गरी दोश्रो चरणको घुम्ती कार्यक्रम सुरु गरिएको जनाएको छ।

एकीकृत कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा माटोको नमुना संकलन तथा परीक्षण कसरी गर्ने भन्ने विषयमा घुम्ती शिविर सम्पन्न भएको जानकारी गराउँदै आजबाट भीरकोट नगरपालिकाका हरेक वडाहरुमा माटोको परीक्षण गर्ने, माटोमा भएको नाइट्रोजन फस्फोरस र पोटासियमको मात्रा पत्ता लगाउने, पोटासियमको मात्रा कम, मध्यम वा बढी भएको अवस्थामा सोही अनुसारको खेति बाली लगाउन सल्लाह दिने गरी दोश्रो चरणको घुम्ती कार्यक्रम सुरु गरिएको भीरकोट नगरपालिकाका कृषि अधिकृत कमल काफ्लेले खबरकलमलाई जानकारी दिए।

उनका अनुसार माटोको PH स्केल समेत परीक्षण गरी माटोमा भएको अम्लीयपना समेत पत्ता लगाउने , क्षारीयपना वा तटस्थता समेत पत्ता लगाउने र सोही अनुसार माटोमा अम्लीयपना भएको अवस्थामा कृषि चुनको प्रयोग गर्ने, क्षारीयपना बढी भएको अवस्थामा जिप्सम प्रयोग गर्न समेत सिफारिस गर्ने र माटो परीक्षणको नतिजा अनुसार कुन बाली लगाउँदा खाद्यतत्व बढी मात्रामा प्राप्त हुन्छ सोही अनुसार तरकारी, खाद्यान्न, सुन्तला, कागती लगायतका तरकारी तथा फलफुल खेती गर्न किसानलाई सुझाव दिने उक्त घुम्ती कार्यक्रमको उदेश्य रहेको अधिकृत काफ्लेले बताए।

उनका अनुसार दोश्रो चरणको कार्यक्रम आजबाट भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार कर्माचार्यको प्रमुख आतिथ्यतामा भीरकोट नगरपालिका वडा नं ९ सिर्कोटबाट सुरु गरिएको छ। आज परीक्षण गरिएको माटोको २८ वटा नमुनामा अम्लीयपना ज्यादा पाइएको र किसानलाई कृषि चुन प्रयोग गर्न सुझाइएको छ।

Share Post on Social media