गल्याङमा तेश्रो गल्याङ महोत्सव हुने, चैत्र ३० गते उद्घाटन गरिंदै

तेस्रो गल्याङ औद्योगिक व्यापार तथा कृषि महोत्सव तल्लो गल्याङ स्थिय खेल मैदानमा हुने तय भएको छ ।

आयोजक गल्याङ उद्योग वाणिज्य संघले शनिबार पत्रकार सम्मेलन गरी यहि चैत्र ३० देखि आउँदो वैशाख ९ गतेसम्म महोत्सव गर्ने जनाएको हो ।

‘गल्याङ महोत्सवको आधार कृषि, उद्योग, पर्यटन नै हाम्रो पुर्वाधार’ भन्ने मुल नारा सहित संस्थाको स्थापनाको दिन पारी महोत्सव आयोजना गरिएको अध्यक्ष डोल प्रसाद श्रेष्ठले जानकारी दिए ।

समुन्नत गल्याङको परिकल्पना साकार पार्न गल्याङलाई राष्ट्रिय एवं अन्तराष्ट्रिय रुपमा चिनाउन स्याङ्जाको गरिमा बोकेको आँधिखोलाको काखमा हुने महोत्सवमा सम्बन्धित स्थानीय सरकार, सुरक्षा निकाय, राजनैतिक दल, प्रशासन लगायतका सरोकारवाला निकायसंग समन्वय र सहकार्य गरिएको उनले बताए ।

उक्त महोत्सवमा स्थानीय तथा स्वदेशी कृषि तथा औद्योगिक उत्पादनको प्रवर्धन एवम् संस्कृतिको जगेर्ना गर्न र विभिन्न सांस्कृतिक कार्यक्रमहरुले विशिष्ट पहिचान बनाउँदै महोत्सवलाई उत्कृष्ट महोत्सवको रुपमा स्थापित गर्न हर तवरले लागि पर्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।

अध्यक्ष श्रेष्ठले यस क्षेत्रमा अवस्थित सेतीवेणी शिला, ताम्केकोट, जगत्रदेवी मन्दिर, कालीगण्डकी जलविद्युत परियोजना, आँधिखोला जलविद्युत परियोजना(वि.पि.सी.), आक्वा, उत्तरवाहिनी, रामनदीधाम, सिद्धगुफा, आलमदेवी मन्दिर, गर्हौँ कालिका मन्दिर, अकलादेवी जस्ता धार्मिक क्षेत्रलाई प्रचारप्रसार गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको बताए ।

त्यस्तै, संघको आफ्नो कुनै जग्गा तथा भवन नभएकोले महोत्सवबाट आम्दानी भएको केही रकमबाट उचित स्थानमा जग्गा खरिद गर्ने साथै संकलित केही रकमलाई सामाजिक उत्तरदायित्व अन्तर्गत समाजसेवा लगायत विभिन्न कार्यक्रम गरी खर्च गर्ने अध्यक्ष श्रेष्ठले उल्लेख गरे ।

उक्त महोत्सवमा कृषि, पर्यटन, उद्योग व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै संस्कृतिको जगेर्ना गर्दै आन्तरिक बजार सवलीकरणका लागि व्यवसायिक उत्पादन तथा निकासी योग्य वस्तुमा जोड दिने संस्थाका निवर्तमान अध्यक्ष यज्ञ प्रसाद अर्यालले पत्रकार सम्मेलनमा बताए ।

उनले कृषिजन्य लघु, घरेलु तथा साना उद्योगहरु प्रवर्द्धनका लागि आवश्यक ज्ञान, उद्यमशिलता र प्रविधी हस्तान्तरण गर्न, हस्तकलाका सामानहरु जनसमक्ष परिचित गराई व्यवसाय विस्तार एवं प्रवर्द्धनमा महोत्सवले सेवा पुर्याउने विश्वास लिएको उल्लेख गरे ।

महोत्सवमा कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, गल्याङ डान्स आइडल प्रतियोगिता, खुला रत्यौली प्रतियोगिता, राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको विषेश साँस्कृतिक प्रस्तुति, जिल्ला स्तरीय भलिबल प्रतियोगिता, विभिन्न जातजातिका सांस्कृतिक भेषभुषाहरुको प्रदर्शनी लगायत विभिन्न प्रदर्शनी एवम् प्रतियोगिताहरु हुने संस्थाकी महासचिव उमा श्रेष्ठले बताइन् ।

Share Post on Social media