अन्तर्राष्ट्रिय सहयोग समाज स्याङ्जाले पालिकास्तरीय भलिबल कप आयोजना गर्दै

खबरकलम संवाददाता/वालिङ: स्याङ्जा सहयोग समाज (अन्तर्राष्ट्रिय समन्वय समिति) को आयोजनामा आगामी कार्तिक २, ३, र ४ गते वालिङ खेल मैदानमा पालिकास्तरीय पहिलो  भलिबल कप २०२४/२०८१ हुने भएको छ। स्याङ्जा जिल्लाका ११ वटा पालिकाहरूको सहभागितामा हुन लागेको यो प्रतियोगिता खेलकुद क्षेत्रका लागि एक महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। स्याङ्जाका ५ नगरपालिका र ६ गाउँपालिकाका टीम सहभागी हुने उक्त प्रतियोगितामा आवश्यकता अनुसार १ दिन थप्न सकिने संस्थाका खेल संयोजक प्रकाश श्रेष्ठले जानकारी दिए।

स्याङ्जा सहयोग समाजद्वारा आयोजित यस प्रतियोगितामा विजेताहरूको आकर्षक पुरस्कारहरू राखिएको छ। शिल्ड मेडल र प्रमाणपत्र सहित प्रथम पुरस्कार नगद रु. १ लाख ५० हजार , द्वितीय पुरस्कार  लागि नगद रु. १ लाख , तृतीय स्थानका लागि रु. ५० हजार रूपैयाँ रहेको छ। सान्त्वना स्थानका लागि नगद रु. २५ हजार सहित मेडल, ट्रफी, र प्रमाणपत्रको व्यवस्था गरिएको छ। उत्कृष्ट खेलाडीलाई नगद रू १० हजार, र अन्य ५ विधामा ५/५  हजार रूपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ। नगद पुरस्कारले  खेलाडीहरूको हौसला बढाउँदै प्रतिस्पर्धालाई थप रोचक बनाउने विश्वास गरिएको छ।

प्रतियोगितालाई  स्याङ्जाली खेलाडीहरूको क्षमताको परीक्षण गर्ने, प्रोत्साहन गर्ने र खेलकुदमार्फत भाइचारा अभिवृद्धि  अवसरका रूपमा लिएको  स्याङ्जा सहयोग समाज (अन्तर्राष्ट्रिय समन्वय समिति) का अध्यक्ष विरेन्द्रजंग के.सी. ले जानकारी दिए।

सांस्कृतिक कार्यक्रमसँगै हुने यस प्रतियोगितामा स्याङ्जा जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाका ११  टिमले सहभागिता जनाउनेछन्। आयोजक समितिका अनुसार, यो प्रतियोगिता खेलकुद प्रवर्द्धनका साथै स्थानीय समुदायमा एकता र सहयोगको भावना बढाउने लक्ष्यका साथ गरिएको हो। यस कार्यक्रमलाई सफल बनाउन स्याङ्जा जिल्लाका विभिन्न पालिकाहरू, वालिङ भलिबल क्लब र  स्याङ्जा सहयोग समाजका विभिन्न राष्ट्रिय समन्वय समितिहरूको समेत सहयोग रहेको छ।

वालिङ खेल मैदानमा खेलप्रेमीहरूको उपस्थिति र सहभागिता अत्यन्त उत्साहजनक हुने अपेक्षा गरिएको छ। यसले स्याङ्जा जिल्लालाई खेलकुदको क्षेत्रमा थप चर्चित बनाउन मद्दत गर्ने विश्वास आयोजकले लिएका छन्। खेललाई शान्तिपूर्ण व्यवस्थित र मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय र मातहतका निकायसँग समन्वय गरिएको बताइएको छ।

दर्ता शुल्क जम्मा रु १५००० राखिएको यस प्रतियोगितामा प्रस्तावित जम्माजम्मी खर्च १५ लाख ८५ हजार हुने छ।

यस प्रतियोगिताका लागि मुख्य प्रायोजन अमेरिकामा बसोवास गर्दै आएका डिलु पराजुलीले गरेका छन्। प्रथम पुरस्कार प्रायोजन अमेरिकामै बसोबास गर्दै आएकी बिमला हमालले गरेकी छन्। यस्तै द्वितीय पुरस्कार सौजन्य कतारमा व्यवशाय गर्दै आएका नारायण शर्मा, तृतीय पुरस्कार जापान निवासी सुकबहादुर केसीले गरेका छन् भने सान्त्वना पुरस्कार आयोजक टीम आफैले प्रायोजन गरेको छ।

Share Post on Social media