कालिका बचत तथा ऋण सहकारी संस्थाको १८ औं साधारणसभा सम्पन्न, करिब डेढ करोड नाफा

कार्तिक २२/स्याङ्जा : भीरकोट नगरपालिका वडा नं १ हेलु नयाँबजार स्थित कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८ औं साधारणसभा सम्पन्न गरेको छ। 

हेलुस्थित शिवमन्दिर परिसरमा आज सयौं शेयरधनीको उपस्थितिमा संस्थाले आफ्नो १८ औं साधारणसभा सम्पन्न गरेको हो। संस्थाको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष भविश्वर कोइरालाले आर्थिक वर्ष २०८०/८१ का प्रगति विवरणहरु सार्वजनिक गरेका थिए। उनका अनुसार संस्थामा हाल २७२१ जना सदस्यहरु रहेको जसमध्ये १३४७ जना पुरुष र १३७४ जना महिला रहेका छन्। 

संस्थाले एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने शेयरधनीका छात्रछात्रालाई सम्मान गर्ने, संस्थामा असल कारोबार गर्ने शेयर सदस्यहरुलाई सम्मान गर्ने, मृत्यु राहत वितरण गर्ने, संस्थामा आबद्ध सदस्यहरुलाई सहज आर्थिक कारोबारको निम्ति ३६५ दिन नै वित्तीय कारोबार गर्ने जस्ता सेवाहरु प्रदान गरिरहेको जानकारी अध्यक्ष कोइरालाले दिए। 

उनले आर्थिक वर्ष २०८१/८२ का लागि ४१ वटा नीति तथा कार्यक्रमहरु प्रस्तुत समेत गरेका थिए। नियमित कार्यक्रम संचालन गर्ने, सहकारी शिक्षासम्बन्धी तालिम सञ्चालन गर्ने, आयमूलक कार्यमा ऋण प्रवाह गर्न प्राथमिकता दिने, वर्षभरी नै शेयर कारोबार खुला गर्ने, अति विपन्न परिवारका विद्यार्थी पहिचान गरी छात्रवृत्ति उपलब्ध गराउने, ऋणको अवधि तथा व्याजदर हेरफेर गर्ने, सदस्यहरुलाई अनिवार्य रुपमा बचत गर्ने अभियान चलाउने जस्ता कार्ययोजना राखिएको छ। 

कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुल शेयर पुँजी रु ४,६९,४२,००० रहेको छ। संस्थाले यस आर्थिक वर्षमा रु २९,५८,३४,३४७ बराबरको कारोबार गरेको कोषाध्यक्ष जगदिश प्रसाद कोइरालाले प्रस्तुत गरेको प्रतिवेदनमा जनाइएको छ। संस्थाको जगेडा कोषमा रु १,९३,३९,६७३ रहेको छ। संस्थाले यस आर्थिक वर्षमा रु २०,६७,१३,७२४ बराबरको रकम ऋण लगानी गरेको छ भने संस्थाको बैंक तथा नगद मौज्दात रु ८,२५,०९,९८५ रहेको छ।‌ संस्थाले यस आर्थिक वर्ष २०८०/८१ मा रु १,३०,५४,४१३ नाफा कमाएको छ। 

गण्डकी प्रदेशका पूर्व सांसद् तथा शिक्षामन्त्री मेखलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कर्माचार्य, उपप्रमुख भगवती अर्याल, लायन्स क्लब अफ भीरकोटका अध्यक्ष ढाकाराम खनाल, शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भक्तबहादुर केसी, भीरकोट सहकारी संघका अध्यक्ष तोयानाथ अर्याल, भीरकोट उद्योग वाणिज्य संघका उपाध्यक्ष नुवादत्त अर्याल, भीरकोट प्रहरी प्रमुख सई प्रमोद कँडेल लगायतका व्यक्तिहरुको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो। 

१८ औं साधारणसभामा भीमबहादुर गोदार, नुवादत्त काफ्ले, ढाकाराम खनाल, भक्तबहादुर केसी, गोविन्द कर्माचार्य, मेखलाल श्रेष्ठ लगायतले आफ्नो शुभकामना मन्तव्य राख्दै सहकारीको प्रगतिको कामना गरेका थिए। 

सहकारीको १८ औं साधारणसभा कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव मिनप्रसाद कोइरालाले गरेका थिए।

Share Post on Social media